प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको एमालेको आरोप
प्रकाशित मिति
२०८३ श्रावण २६ गते, मंगलवार ०२:२४
२६ साउन २०८३ काठमाडौं – विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी नभएको र संसदीय अभ्यासको मर्यादा उल्लंघन गरेको आरोप लगाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमाले सांसद चन्देश्वर मण्डलले प्रधानमन्त्री शाह संसद्मा नियमित उपस्थित नभएको भन्दै आलोचना गरे । उनले प्रधानमन्त्री जम्मा तीन पटक मात्र संसद्मा उपस्थित भएको र बजेट प्रस्तुत भइरहँदा समेत बाहिरिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाए ।
मण्डलले प्रधानमन्त्री शाहको पोसाक र संसद्मा प्रस्तुत हुने शैलीप्रति समेत टिप्पणी गर्दै राष्ट्रिय पोसाकको सट्टा कालो सुट, चस्मा र ज्याकेटमा उपस्थित हुँदा संसद्को गरिमा घटेको आरोप लगाए ।

उनले सुनसरीको देवानगञ्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र मेहता र गणेश यादवको मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । गोलबजारमा १९ जना व्यापारीको अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति जलेको भन्दै पीडितलाई उचित क्षतिपूर्ति दिन पनि सरकारसँग माग गरे ।

मण्डलले हिन्दू र मुस्लिम समुदायबीच आपसी भाइचारा कायम राख्नसमेत अपिल गरे । साथै, सत्तापक्षका सांसदलाई संसद्मा जथाभावी ‘ढ्यापढ्याप’ नगर्न र संसदीय मर्यादा कायम राख्न सुझाव दिए ।
उनले तराई–मधेशका समसामयिक समस्यादेखि सरकारको वैदेशिक नीतिसम्मका विषयमा प्रश्न उठाउँदै प्रधानमन्त्रीको कार्यशैली र विवादास्पद अभिव्यक्तिप्रति संसद्को ध्यानाकर्षण गराएका थिए।




प्रतिकृया