रास्वपाका सांसद प्रसाईंले ग्यासको अभावलाई लिएर गरे आफ्नै सरकारको कडा आलोचना
प्रकाशित मिति
२०८३ श्रावण २२ गते, शुक्रबार ०४:१४
२२ साउन २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले खाना पकाउने ग्यासको अभावलाई लिएर आफ्नै सरकारको कडा आलोचना गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ग्यास अभावका कारण सर्वसाधारण दिनरात लाइन बस्न बाध्य भएको भन्दै सरकारसँग जवाफ मागेका हुन्।
सम्बोधनको सुरुवातमै प्रसाईंले, “सभामुखज्यू, म कहिलेकाहीँ कन्फ्युज्ड हुन्छु, कसलाई के भनौँ, मेरै गाला मेरै चड्कन,” भन्दै वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गरे। उनले चुनावी अभियानका क्रममा ‘सरकारी कार्यालयमा लाइन होइन, अनलाइन’ भन्ने प्रतिबद्धता गरेको स्मरण गर्दै अहिले खाना पकाउने ग्यासका लागि जनता दिनभरि र मध्यरातसम्म लाइनमा बस्नुपरेको दृश्यले आफूलाई लज्जित बनाएको बताए।

सांसद प्रसाईंले सरकारसँग दुई प्रश्न पनि उठाए। पहिलो, प्रधानमन्त्री र मन्त्रीहरूको सरकारी निवासमा पनि ग्यास अभाव छ कि छैन भन्ने प्रश्न गर्दै उनले जनताले भोगिरहेको समस्या शासकले पनि महसुस गर्नुपर्ने बताए।

त्यसपछि उनले सरकारले दाबी गरेजस्तै कृत्रिम अभाव र कालोबजारीकै कारण समस्या उत्पन्न भएको हो भने कालोबजारी गर्नेहरूलाई कानुनअनुसार कडा कारबाही गर्न दुईतिहाइ बहुमतको सरकारलाई के कुराले रोकेको छ भनेर प्रश्न गरे।
प्रसाईंले जनताले नयाँ सरकार रोज्नुको कारण नयाँ अनुहार नभई नयाँ कार्यशैली र चरित्रको अपेक्षा रहेको उल्लेख गर्दै जनअपेक्षाअनुसार काम गर्न सरकारलाई आग्रह गरे।




प्रतिकृया