कान्छी सहसचिव आरती न्यौपानेलाई दुई महिनामै राष्ट्रिय किताबखानाको महानिर्देशकको जिम्मेवारी
प्रकाशित मिति
२०८३ श्रावण २० गते, बुधबार ०१:५०
२० साउन २०८३ काठमाडौं – सहसचिव बनेको करिब दुई महिनामै आरती न्यौपानेले अर्को महत्वपूर्ण जिम्मेवारी पाएकी छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई राष्ट्रिय किताबखाना (निजामती) को महानिर्देशक नियुक्त गरेको छ।
हालै ३१ वर्षकै उमेरमा खुला महिला प्रतिस्पर्धाबाट सहसचिव बनेर नयाँ इतिहास रचेकी न्यौपानेलाई रिक्त रहेको महानिर्देशक पदको जिम्मेवारी दिइएको हो। उनी निजामती सेवाकी कान्छी सहसचिवका रूपमा परिचित छन्।

मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने क्रममा संघीय मामिला महाशाखाका प्रमुख प्रकाश दाहाललाई भने प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम (पीएलजीएसपी) को राष्ट्रिय कार्यक्रम निर्देशकको अतिरिक्त जिम्मेवारी दिएको छ।

क्षमता विकास महाशाखा खारेज भएपछि त्यसअन्तर्गतका कार्यहरू संघीय मामिला महाशाखामा समायोजन गरिएकाले दाहाललाई उक्त अतिरिक्त जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
भक्तपुरकी आरती न्यौपाने २०७५ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन्। त्यसपछि २०८० मा उपसचिव र २०८३ मा सहसचिव बन्न सफल भएकी उनी अहिले राष्ट्रिय किताबखानाको नेतृत्व सम्हाल्ने अवसर पाएकी छन्।
उनको नियुक्तिलाई कम उमेरमै उच्च प्रशासनिक नेतृत्वको जिम्मेवारी प्राप्त गरेको उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ।




प्रतिकृया