• ५ असोज २०८३, सोमबार
  • १ः०४ दिउँसो

विरोधपछि सरकार पछि हट्यो, भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय आजदेखि खुल्ने

प्रकाशित मिति

२०८३ श्रावण २० गते, बुधबार १२:०५

२० साउन २०८३ काठमाडौं – भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा लगाइएको ताला सरकारले आफैं खोल्ने भएको छ। समाज कल्याण परिषद्ले चैत ३० गतेदेखि बन्द गरेको पुस्तकालय आज पुनः सञ्चालनमा ल्याउन लागिएको हो।

National Life

समाज कल्याण परिषद्ले ताला खोलिने जानकारी दिँदै पुस्तकालय व्यवस्थापनलाई प्रतिनिधि पठाउन पत्राचार गरेको छ। यसअघि परिषद्ले भाडा नतिरेको भन्दै अन्य व्यवसायिक स्टलसँगै पुस्तकालयमा पनि ताला लगाएको थियो। पुस्तकालय बन्द गर्ने निर्णयको चौतर्फी आलोचना भएपछि सरकार पुस्तकालय पुनः सञ्चालन गर्न सहमत भएको हो। भाडा विवाद भने यथावत् रहने जनाइएको छ।

परिषद्ले भाडा बक्यौता देखाउँदै सुरक्षाकर्मीको सहयोगमा २० वटा स्टलमा ताला लगाएको थियो। परिषद्का अनुसार पुस्तकालय सञ्चालन भइरहेको स्टल नम्बर ३४ को १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ तथा अर्को स्टल नम्बर ३८ को १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ भाडा बाँकी रहेको दाबी गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज र समाज कल्याण परिषद्बीच २०६४ असोज २१ गते भएको सम्झौताअनुसार पुस्तकालयलाई ७५ प्रतिशत भाडा छुट दिने व्यवस्था थियो। पुस्तकालय व्यवस्थापनले पुरानो सम्झौता पुनरावलोकन नगरी निजी व्यवसायसरह व्यवहार गरिएको भन्दै असन्तुष्टि जनाएको छ।

दातृ संस्था तथा व्यक्तिहरूको सहयोगमा सञ्चालित पुस्तकालयमा ४० हजारभन्दा बढी पुस्तक, पत्रपत्रिका, जर्नल तथा सरकारी प्रतिवेदन संरक्षित छन्। दैनिक करिब २०० जना पाठक अध्ययनका लागि पुस्तकालय पुग्ने गरेका थिए। पुस्तकालय बन्द गर्ने निर्णयको व्यापक विरोध र विभिन्न क्षेत्रबाट सञ्चालन निरन्तरताको माग बढेपछि सरकारले तत्कालका लागि भाडा विवादलाई अलग राख्दै पुस्तकालय पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रतिकृया