भोटेकोशी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब जम्मा
प्रकाशित मिति
२०८३ आश्विन ५ गते, सोमबार १२:०६
५ असोज २०८३ काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । सोमबारसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ । सरकारले कोषमा जम्मा भएको सहयोग रकममध्ये यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।
कार्यालयका अनुसार कोषको रकम विभिन्न नौ वटा वाणिज्य बैंकमा राखिएको छ । ती बैंकका खातामा कुल ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा भएको छ ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।
भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायबाट सहयोग रकम संकलन भइरहेको छ ।






प्रतिकृया