• ५ असोज २०८३, सोमबार
  • १२ः५२ दिउँसो

सुपथ मूल्य पसलमा बढ्दै ग्राहकको आकर्षण, ४५ लाखभन्दा बढी छुट प्रदान

प्रकाशित मिति

२०८३ आश्विन ५ गते, सोमबार १२:५१

५ असोज २०८३ काठमाडौं —चाडपर्व नजिकिएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दै गएको छ । कम्पनीले चाडपर्वलाई लक्षित गर्दै देशभरका ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ ।

National Life

कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर गत साउन २८ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । पसलमा उपभोक्ताको मागअनुसार आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात राखिएको कम्पनीका सूचना अधिकारी माधव मिश्रले मातृभूमि न्युजलाई जानकारी दिए।

सुपथ मूल्य पसलबाट सर्वसाधारणले चामल, दाल, खानेतेल, चिनी, नुनलगायत दैनिक उपभोग्य सामग्री सहुलियत मूल्यमा खरिद गर्न सक्नेछन् । त्यस्तै, स्थानीय स्तरमा उत्पादित पौष्टिक अन्न चिनो, कागुनो, फापर र सिमीलगायतका सामग्रीसमेत बिक्रीका लागि राखिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मिश्रका अनुसार यस वर्ष सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दा उपभोक्ताले प्रतिकिलो वा प्रतिलिटर ५ रुपैयाँसम्म विशेष छुट दिइएको बताएका छन् । चाडपर्वका समयमा बजारमा हुने मूल्यवृद्धिको भार कम गर्न यस्तो छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीकी निमित्त प्रमुख कार्यकारी अधिकृत सर्मिला न्यौपाने सुवेदीका अनुसार हालसम्म सुपथ मूल्य पसलमा ग्राहकको उपस्थिति राम्रो रहेको छ । दशैं–तिहार मुख्य व्यापारिक समय भएकाले आगामी दिनमा कारोबार अझ बढ्ने अपेक्षा गरिएको उनले बताइन् ।

हालसम्म विभिन्न स्थानमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री बिक्री भइरहेको जानकारी दिँदै सुवेदीले सुपथ मूल्य पसलमार्फत हालसम्म उपभोक्तालाई ४५ लाख ५२ हजार १५५ रुपैयाँ बराबरको छुट प्रदान गरिएको मातृभूमि न्युजलाई जानकारी दिइन् । उनका अनुसार मुख्य व्यापारिक कारोबार दशैं–तिहारको समयमा हुने भएकाले आगामी दिनमा सुपथ मूल्य पसलमा उपभोक्ताको चाप थप बढ्ने अपेक्षा गरिएको छ ।

कम्पनीले सञ्चालनमा ल्याएको अनलाइन बिक्री प्रणालीप्रति पनि उपभोक्ताको आकर्षण बढ्दै गएको छ । सूचना अधिकारी मिश्रका अनुसार अन्य जिल्लाको तुलनामा काठमाडौंमा अनलाइनमार्फत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको अर्डर राम्रो आउने गरेको छ ।

उपभोक्ताले घरमै बसेर अनलाइनमार्फत आवश्यक सामग्री अर्डर गरी खरिद गर्न थालेका छन् । यसले सुपथ मूल्य पसलको सेवा भौतिक बिक्री केन्द्रसँगै डिजिटल माध्यमबाट समेत विस्तार हुँदै गएको देखाएको छ ।

यस वर्षको दशैंलाई लक्षित गर्दै कम्पनीले खसीबोका बिक्री नगर्ने भएको छ । विगतका वर्षमा दशैंका अवसरमा खसीबोका बिक्री गर्दै आएको कम्पनीले यस वर्ष भने उक्त कार्यक्रम सञ्चालन नगर्ने जनाएको हो ।

कम्पनीले चाडपर्वका समयमा उपभोक्तालाई आवश्यक दैनिक उपभोग्य सामग्री सहुलियत मूल्यमा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ । पर्याप्त खाद्यान्न मौज्दात, मूल्यमा छुट र अनलाइन खरिदको सुविधाले चाडपर्वको समयमा उपभोक्तालाई राहत पुग्ने कम्पनीको अपेक्षा छ ।

प्रतिकृया