यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८३ श्रावण १९ गते, मंगलवार ०९:२६
१९ साउन २०८३ काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालका तराई भू–भाग नजिक रहेकाले वर्षाको गतिविधि सक्रिय बनेको हो।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने पहाडी भू–भागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।




प्रतिकृया