११ वर्षमा सार्क मुलुकबाट ३९ अर्बभन्दा बढी लगानी प्रतिबद्धता, भारतको ९१% हिस्सा
प्रकाशित मिति
२०८३ श्रावण १८ गते, सोमबार ०४:५५
१८ साउन २०८३ काठमाडौं – नेपालले पछिल्लो ११ आर्थिक वर्षमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूबाट ३९ अर्ब ७ करोड ३४ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त गरेको छ।
उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०८२/८३ को जेठ मसान्तसम्म सार्क राष्ट्रहरूबाट ६०९ वटा आयोजना मार्फत उक्त लगानी प्रतिबद्धता आएको हो। यस अवधिमा भारतको वर्चस्व कायम रहेको देखिएको छ।

कुल प्रतिबद्धतामध्ये भारतको हिस्सा ३५ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ (९०.९९ प्रतिशत) रहेको छ। भारतीय लगानीकर्ताले जलविद्युत्, उत्पादन तथा सेवा क्षेत्रका ३३१ वटा आयोजनामा लगानी प्रस्ताव गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै ५२ वटा आयोजनामार्फत ४ अर्ब ५७ करोड ३२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता दर्ता भएको छ।

भारतपछि बङ्गलादेश दोस्रो ठूलो लगानीकर्ता बनेको छ। बङ्गलादेशबाट २ अर्ब ७४ करोड ४९ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ, जुन कुल प्रतिबद्धताको ७.०३ प्रतिशत हो। पछिल्ला दुई वर्षमा बङ्गलादेशी लगानीकर्ताको साना तथा मझौला उद्योग र पर्यटन क्षेत्रमा आकर्षण उल्लेख्य रूपमा बढेको विभागको तथ्यांकले देखाएको छ।
अन्य सार्क मुलुकमध्ये श्रीलङ्काबाट ३९ करोड ९५ लाख रुपैयाँ, पाकिस्तानबाट २४ करोड २७ लाख रुपैयाँ, भुटानबाट २ करोड ७० लाख रुपैयाँ र अफगानिस्तानबाट ९० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। माल्दिभ्सबाट भने समीक्षा अवधिभर कुनै पनि लगानी प्रतिबद्धता दर्ता भएको छैन।




प्रतिकृया