• ३ असोज २०८३, शनिबार
  • ७ः०७ बेलुका

आज प्रतिनिधिसभा बैठक बस्दै

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार १०:०१

१९ साउन २०८३ काठमाडौं – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आव २०८१/८२)’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

National Life

बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि पनि छलफल हुनेछ। प्रस्तावमा वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान, सुरक्षित आवास, आधारभूत सेवा, उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापना र यथाशीघ्र लालपूर्जा वितरणको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। उक्त प्रस्तावलाई सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई ले समर्थन गरेका छन्।

यसैबीच आज विभिन्न पाँच संसदीय समितिको बैठक पनि बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक तय भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बिहान १० बजे बस्ने अर्थ समितिमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफाबार छलफल जारी रहनेछ। सोही समयमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धी विषयमा छलफल हुनेछ।

अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्नेछ भने बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिमा ‘नेपाल विशेष सेवा ऐन, २०४२’ सम्बन्धी संशोधन विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल हुनेछ। साथै कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनमाथि पनि छलफल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासन कार्यान्वयनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रतिकृया