• १० असार २०८३, बुधबार
  • ८:४९ बेलुका

वीरगञ्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट

प्रकाशित मिति

२०८३ असार १० गते, बुधबार ०७:२७

१० असार २०८३  वीरगञ्ज – मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आज सम्पन्न २०औँ नगरसभामा शिक्षा, स्वास्थ्य सेवा, सरसफाइ, कृषि, पर्यटन, उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार तथा प्रविधिलाई प्राथमिकतामा राख्दै उक्त बजेट प्रस्तुत गरिएको हो।

कार्यवाहक मेयर इम्तियाज आलम का तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानु ले आगामी आर्थिक वर्षको आय–व्यय विवरणसहित बजेट पेश गरेका हुन्। महानगरले ल्याएको बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १ अर्ब १९ करोड रुपैयाँले बढी हो। चालु आर्थिक वर्ष २०८२/८३ का लागि महानगरले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो।

Kamana Sewa

बजेटअनुसार चालू खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ५४.३ प्रतिशत विनियोजन गरिएको छ। पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ अर्थात् ४४.६ प्रतिशत छुट्याइएको छ भने वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ अर्थात् १.१ प्रतिशत बजेट विनियोजन गरिएको छ।

Classic Tech Desktop

महानगरले बजेट कार्यान्वयनका लागि संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।

त्यस्तै, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ, घरजग्गा रजिस्ट्रेशन शुल्कबाट ४५ करोड रुपैयाँ, गत वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ जुटाइने उल्लेख गरिएको छ।

महानगरले आगामी वर्षको बजेटमार्फत सेवा प्रवाह सुधार, पूर्वाधार विकास र आर्थिक गतिविधि विस्तारमा जोड दिने जनाएको छ।

प्रतिकृया