• २८ साउन २०८३, बिहीबार
  • ५:०८ बेलुका

स्वास्थ्य बीमामा औषधिको संख्या घट्यो, १८७ प्रकार हटाइयो

प्रकाशित मिति

२०८३ श्रावण २७ गते, बुधबार १२:५८

२७ साउन २०८३ काठमाडौं – सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ। स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागू गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो।

नयाँ सूचीअनुसार अब स्वास्थ्य बीमा कार्यक्रमबाट १ हजार १०२ प्रकारका औषधि उपलब्ध हुनेछन्। यसअघि बीमा कार्यक्रमअन्तर्गत १ हजार २८९ प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए। नयाँ सूचीबाट १८७ प्रकारका औषधि हटाइएसँगै औषधिको संख्या १ हजार १०२ मा झरेको हो।

Kamana Sewa

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार एउटै प्रकृतिको उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन हटाउनु, सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क उपलब्ध गराउने औषधिलाई बीमा सूचीबाट अलग गर्नु तथा नेपालमा प्रयोगमा नरहेका वा नियामक निकायबाट हटाउन सिफारिस भएका औषधि सूचीबाट हटाउनु यसको मुख्य कारण हो।

Classic Tech Desktop

आधारभूत स्वास्थ्य सेवाअन्तर्गत सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउँदै आएका केही औषधि स्वास्थ्य बीमा कार्यक्रमको सूचीमा समेत समावेश थिए। एउटै औषधि सरकारबाट निःशुल्क उपलब्ध हुने र स्वास्थ्य बीमाबाट समेत भुक्तानी हुने दोहोरो व्यवस्था हटाइएको बोर्डले जनाएको छ। ‘आधारभूत स्वास्थ्य सेवाबाट सरकारले निःशुल्क दिने केही औषधि पनि बीमा सूचीमा थिए। त्यसलाई बीमाबाट पनि निरन्तरता दिँदा दोहोरोपन हुने भएकाले हटाइएको हो,’ मल्लले भने।

बोर्डले नयाँ सुविधा थैली असार ३० गते बसेको बोर्ड बैठकबाट स्वीकृत गरेको थियो। स्वीकृत नयाँ व्यवस्था साउन ५ गतेदेखि कार्यान्वयनमा आइसकेको छ। औषधिको संख्या घटाइए पनि यसले बीमित नागरिकले पाउने उपचार सुविधामा ठूलो असर नपर्ने बोर्डको दाबी छ। प्रयोगमा नरहेका तथा एउटै प्रकृतिमा काम गर्ने औषधिको दोहोरोपन मात्रै हटाइएको र आवश्यकताअनुसार वैकल्पिक औषधिबाट उपचार व्यवस्थापन गर्न सकिने भएकाले सेवाग्राहीलाई प्रत्यक्ष प्रभाव नपर्ने बोर्डले जनाएको छ।

‘औषधि घटाउँदैमा बीमित नागरिकलाई उपचारबाट वञ्चित हुँदैन। प्रयोगमा नआएका वा एउटै प्रकृतिमा काम गर्ने औषधिको दोहोरोपन हटाइएको हो। वैकल्पिक औषधिबाट उपचार व्यवस्थापन गर्न सकिने भएकाले सेवाग्राहीलाई प्रत्यक्ष प्रभाव नपर्ने गरी सूची परिमार्जन गरिएको हो,’ मल्लले भने।

प्रतिकृया