• ३ साउन २०८३, आइतबार
  • ३:४७ बेलुका

सार्वजनिक सवारीको नयाँ दर्ता रोक्न सातै प्रदेशलाई निर्देशन

प्रकाशित मिति

२०८३ जेष्ठ ८ गते, शुक्रबार ११:३६

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सातै प्रदेशमा सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्न निर्देशन दिएको छ ।शुक्रबार निर्देशक मणिराम भूसालले सबै यातायात व्यवस्था कार्यालय तथा सम्बन्धित निकायलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारी साधन दर्ता रोक्न निर्देशन दिएका हुन् ।

मन्त्रालयले बढ्दो ट्राफिक जाम, वायु प्रदूषण तथा सडकमा सवारीको अत्यधिक चापलाई कारण देखाउँदै नयाँ दर्ता रोक्ने निर्णय गरिएको जनाएको छ । इन्धनबाट चल्ने सवारी मात्र नभई विद्युतीय सार्वजनिक सवारी साधनको समेत नयाँ दर्ता रोक्न भनिएको छ ।

Kamana Sewa

मन्त्रालयका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण, ट्राफिक जाम र आवागमनमा समस्या बढ्दै गएको छ । साथै इन्धनको मूल्यवृद्धिका कारण सार्वजनिक यातायात क्षेत्रमा थप असहज अवस्था सिर्जना भएकाले सार्वजनिक सवारीको व्यवस्थापन आवश्यक देखिएको उल्लेख गरिएको छ ।

Classic Tech Desktop

परिपत्रमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा ३ अनुसार वातावरण प्रदूषण, सवारी चाप, सडक अवस्था वा सार्वजनिक हितका आधारमा कुनै पनि प्रकारका सवारी साधनको दर्ता रोक्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ ।

उक्त व्यवस्था अनुसार अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारी साधन, विद्युतीय सार्वजनिक सवारीसहित, नयाँ दर्ता नगर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया