मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित कार्यक्रममा रेनु दाहालले दिने सम्बोधन
प्रकाशित मिति
२०८२ फाल्गुन २८ गते, बिहीबार १०:४२
२८ फाल्गुन,२०८२ काठमाडौं- भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने प्रतिष्ठित एनएक्सटी समिट २०२६ मा सम्मानित वक्ताको रूपमा आमन्त्रण गरिएको छ।
भारतीय संसदको राज्य सभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै उक्त सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा गरेका छन्। सम्मेलन आगामी मार्च १२, १३ र १४ मा नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना हुँदैछ।

आयोजकहरूले यस सम्मेलनलाई भारतमा वार्षिक क्यालेन्डर इभेन्टको रूपमा विकास गर्ने लक्ष्य राखेको बताएका छन्। यसले नीति, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान तथा प्रविधिका क्षेत्रका विश्वस्तरीय विचारकहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्य राखेको छ।

सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन् भने अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन सम्मानित अतिथि रहनेछन्। अन्य प्रमुख वक्ताहरूमा रेल, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री अश्विनी वैष्णव, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा. जितेन्द्र सिंह लगायतका व्यक्तित्वहरू सहभागी हुनेछन्।
सम्मेलनमा ३० भन्दा बढी देशका सांसदहरू, हार्वर्ड, एमआइटी, बर्कली, अक्सफोर्ड, क्याम्ब्रिज, एलएसई, स्ट्यानफोर्ड लगायतका विश्वका २५ उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरू, विभिन्न देशका उपकुलपति र विशेषज्ञहरूको उपस्थितिको अपेक्षा गरिएको छ। साथै, एनएक्सटी इन साइन्स कार्यक्रम प्रसिद्ध भौतिकशास्त्री डा. ब्रायन ग्रीन (कोलम्बिया विश्वविद्यालय) सँगको सहकार्यमा आयोजना हुनेछ।
निमन्त्रणापत्रमा रेनु दाहालजस्ता नेताहरूको उपस्थितिले सम्मेलनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ। यसमार्फत सम्मेलनलाई आगामी वर्षहरूमा कसरी अझ प्रभावकारी बनाउने भन्ने विषयमा उनको सुझाव पनि मागिएको छ।
रेनु दाहाल नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै सहभागी हुने भएकाले यो निमन्त्रणालाई नेपाली राजनीतिक र सामाजिक क्षेत्रका लागि गौरवको विषयका रूपमा हेरिएको छ।
एनएक्सटी समिट भारतलाई विश्वस्तरीय संवाद मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको कार्यक्रम हो, जसमा नेपालबाट प्रतिनिधित्व हुनु विशेष सम्मानको विषय मानिन्छ।




प्रतिकृया