अमेरिका–इजरायलको हमलामा इरानका सर्वोच्च नेता खामेनी मारिएको दाबी,४० दिनसम्म राष्ट्रिय शोक मनाउने
प्रकाशित मिति
२०८२ फाल्गुन १७ गते, आईतवार ०९:३१
१७ फाल्गुन,२०८२ काठमाडौं – अमेरिका र इजरायलले गरेको संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको दाबी गरिएको छ। इरानी सरकारी टेलिभिजनका एक प्रस्तोताले खामेनीको मृत्यु भएको पुष्टि गर्दै देशभर ४० दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको राजधानी तेहरानमा गरिएको आक्रमणमा खामेनी मारिएको दाबी गरेका थिए। ट्रम्पले आवश्यक परेसम्म सटीक बमबारी जारी रहने चेतावनी दिँदै इरानी जनताका लागि “आफ्नो देश फिर्ता लिने अवसर” आएको बताएका छन्।

हमलामा खामेनीसँगै उनकी छोरी, ज्वाईं, नातिनातिना तथा एक बुहारीसमेत मारिएको बताइएको छ। आक्रमणमा परी इरानभर २०० जनाभन्दा बढीको ज्यान गएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ, यद्यपि स्वतन्त्र पुष्टि हुन बाँकी रहेको जनाइएको छ।

खामेनी सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानका दोस्रो सर्वोच्च नेता हुन्। सन् १९८९ मा रुहोल्लाह खुमैनीको निधनपछि उनी सर्वोच्च नेता बनेका थिए।
यसैबीच, हमलाको प्रतिउत्तरस्वरूप इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा आक्रमण सुरु गरेको जनाएको छ। दुबई, दोहा, बहराइन र कुवेतस्थित अमेरिकी सैन्य शिविरहरूमा मिसाइल प्रहार गरिएको दाबी गरिएको छ।
घटनापछि मध्यपूर्वमा सुरक्षा अवस्था अत्यन्त तनावपूर्ण बनेको छ र अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरिरहेका छन्।




प्रतिकृया