नाबालिकाको डिम्ब निकालेको प्रकरण : महान्यायाधिवक्ताको निर्णयमा सर्वोच्चमा कारण देखाउ आदेश
प्रकाशित मिति
२०८२ मंसिर १६ गते, मंगलवार ०४:४६
मंसिर १६, २०८२ काठमाडौं – नाबालिकाको डिम्ब गैरकानुनी रूपमा निकालिएको घटनामा होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टरविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता रिटमा सर्वोच्च अदालतले कारण देखाउन आदेश जारी गरेको छ। अधिवक्ता अंकिता त्रिपाठीले दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै अदालतले विपक्षीहरूलाई अग्राधिकारकासाथ जवाफ माग्ने आदेश दिएको हो।
रिटमा नाबालिकाहरूलाई उमेर ढाँटिएको भरमा मुद्दा नचलाउने निर्णय ‘पदीय दुरुपयोग’ भएको आरोप लगाइएको छ। अभिभावकको अनुमति बिना, बेहोस बनाई, लामो समय खानपान नदिई चिकित्सकीय उपकरण प्रयोग गरेर डिम्ब निकालिएको कार्य जबरजस्ती करणीको दायरामा पर्ने तर्क रिटमा राखिएको छ।
अनुसन्धानमा नाबालिकामाथि शारीरिक, मानसिक र प्रजनन स्वास्थ्यसम्बन्धी गम्भीर हानी देखिएको उल्लेख गर्दै रिटमा महान्यायाधिवक्ताको निर्णय बदर गरी सम्बन्धितविरुद्ध आपराधिक मुद्दा चलाउन आदेश माग गरिएको छ।






प्रतिकृया