निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको घिसिङद्वारा स्थलगत निरीक्षण
प्रकाशित मिति
२०८२ मंसिर १६ गते, मंगलवार ०३:४१
मंसिर १६, २०८२ काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गरेका छन्। काठमाडौँको बूढानीलकण्ठ–७ हेपाली हाइटमा कियोज (KIOCH) नेपालले निर्माण गरिरहेको दुई सय शैयाको अत्याधुनिक बाल अस्पतालको प्रगतिबारे मन्त्री घिसिङले स्थलगत अवलोकन गरेका हुन्।
अस्पतालको मुख्य भवन अन्तिम चरणमा पुगेको छ। अस्पताल निर्माणका लागि सरकारले ४१ रोपनी जग्गा भाडामा उपलब्ध गराएको छ भने संघीय सरकारले भवन तथा उपकरणका लागि ११ करोड र बागमती प्रदेश सरकारले १ करोड रुपैयाँ अनुदान दिने निर्णय गरिसकेको छ।
मन्त्री घिसिङले झापाको दमकमा सञ्चालनमा रहेको कियोजको बाल अस्पतालको पनि निरीक्षण गर्दै सेवाको प्रभावकारीताबारे प्रशंसा गरेका छन्। उनले डा. कोइरालाको पहलमा बन्ने अत्याधुनिक बाल अस्पताल मुलुककै स्तर उकास्ने परियोजना भएको बताउँदै आवश्यक सरकारी सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।
डा. कोइरालाले काठमाडौंको अस्पताल अत्याधुनिक उपकरण तथा सुविधासहित सबै वर्गका बालबालिकालाई गुणस्तरीय र किफायती उपचार उपलब्ध गराउने उद्देश्यले निर्माण भइरहेको बताए। कर्णाली प्रदेशमा पनि बाल अस्पताल विस्तारका लागि पहल भइरहेको उनको भनाइ छ।






प्रतिकृया