• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

फोहोर संकटबीच मन्त्री घिसिङ पुगे बञ्चरेडाँडामा

प्रकाशित मिति

२०८२ कार्तिक १६ गते, आईतवार ११:२९

कात्तिक  १६, २०८२ काठमाडौं— काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापन गम्भीर समस्या बनेपछि शहरी विकासमन्त्री कुलमान घिसिङ आज बञ्चरेडाँडास्थित प्रमुख फोहोर व्यवस्थापन स्थलमा पुगेका छन्। उपत्यकाभर दुर्गन्ध फैलिएको र सडकदेखि बस्तीसम्म फोहोर थुप्रिँदै गएको अवस्थापछि मन्त्री घिसिङले स्थानीय प्रशासन, प्राविधिक टोली र जनप्रतिनिधिसँग स्थलमै गएर वास्तविक अवस्था बुझ्दै सुधार योजनाबारे छलफल गरेका हुन्।

उपत्यकामा हाल दैनिक १,२०० टनभन्दा बढी फोहोर निस्कने गरेको छ। सिसडोल ल्याण्डफिल्ड साइटको क्षमता घटेपछि बञ्चरेडाँडालाई दीर्घकालीन विकल्पका रूपमा प्रयोग गर्न थालिएको भए पनि पूर्वाधार अभाव, वातावरणीय जोखिम र सामाजिक असन्तुष्टिका कारण यो स्थल पनि पूर्ण रूपमा प्रभावकारी हुन सकेको छैन।

Kamana Sewa

स्थानीय बासिन्दाले फोहोरका कारण पानीका मुहान प्रदूषित भएको, स्वास्थ्य जोखिम बढेको, सडक अवरुद्ध हुने र कृषिमा असर परेको गुनासो गर्दै आएका छन्। २०७९ भदौमा स्थानीय आन्दोलनकै कारण उपत्यकाभर फोहोर थुप्रिने अवस्था आएको थियो। एक वर्षअघिको अध्ययनले पनि बञ्चरेडाँडाको माटो र पानीमा प्रदूषण वृद्धि भएको र त्यसले कृषि उत्पादनमा गिरावट ल्याएको पुष्टि गरेको छ।

Classic Tech Desktop

यद्यपि सरकार र स्थानीयबीच १८ बुँदे सहमति भए पनि कार्यान्वयन नहुँदा समस्या निरन्तर दोहोरिँदै आएको स्थानीयको आरोप छ। असोज २०८२ मा भएको छलफलमा पनि ठोस सहमति नजुटेपछि फोहोर व्यवस्थापनमा पुनः अवरोध सिर्जना भएको हो।

अनुगमनका क्रममा मन्त्री घिसिङले फोहोर छुट्याउने प्रणाली अनिवार्य रूपमा लागू गर्न, स्थानीयहरूसँग भएका प्रतिवद्धता तत्काल कार्यान्वयन गर्न र वातावरणीय क्षति न्यूनिकरणका उपायहरूलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन्।

प्रतिकृया