मन्त्रिपरिषद्का पछिल्ला ११ निर्णय सार्वजनिक (सूचीसहित)
प्रकाशित मिति
२०८२ कार्तिक १३ गते, बिहीबार ०६:४८
कात्तिक १३, २०८२ काठमाडौं— सरकारको पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ। हिजो (बुधबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू आज (बिहीबार) सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार, गृह मन्त्रालयको सिफारिसमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजन अधिकारीलाई मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुने ९३औँ इन्टरपोल महासभामा सहभागी हुन स्वीकृति दिने निर्णय गरिएको छ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि निर्वाचन मिति आगामी २०८२ माघ ११ गते आइतबारका लागि तोक्ने निर्णय गरेको पनि प्रवक्ता खरेलले जानकारी दिए।

साथै, बैठकले विभिन्न सरकारी निकायका सेवाहरूलाई प्रचलित कानुनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित गरी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा पहुँच प्रदान गर्ने निर्णय गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय :
१. संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा हेरफेर गर्ने । (पदाधिकारी तथा सदस्यको सचिवालयको दरबन्दी घटाइएको)
२. २०८२ मंसिर ६ देखि १३ गतेसम्म पेरूमा आयोजना हुने इन्टरनेसनल ट्रेटी अन प्लान्ट जेनेटिक रिसोर्स फर फूड एण्ड एग्रिकल्चरको ओभर्निङ बडीको ११औँ अधिवेशनमा सहभागि हुन डा. गोविन्द प्रसाद शर्मालाई स्वीकृति दिने ।
३. २०८२ मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा सहभागि हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने ।
४. राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने ।
५. देहायका सेवाहरूलाई प्रचलित कानूनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको भनी विद्युतिय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउन सक्ने गरी सेवा तोक्ने :
–वैदेशिक रोजगार सम्बन्धी
–अदालतका मुद्दा व्यवस्थापन सम्बन्धी
–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी
–स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्थापन सम्बन्धी
अध्यागमन सेवासम्बन्धी
–बन्दीको पहिचान, प्रमाणिकरण तथा बन्दीहरूका विवरण सम्बन्धी
६. समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालयअन्तर्गत रहने गरी संगठन तथा व्यवस्थापन संरचना गर्न पूर्ण स्वीकृति दिने ।
७. बेल्जियमको ब्रसेल्समा आयोजना हुने नेपाल–युरोपेली संघबीचको संयुक्त आयोगको सोह्रौँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।
८. कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसियल डेभलपमेन्ट कार्यक्रममा २०८२ कात्तिक १७ देखि २० गतेसम्म सहभागी हुन सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने ।
९. नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानीमा र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने ।
१०. २०८२ मंसिर १ देखि ३ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने छैटौं सेसन अफ द टोकियो कन्भेन्सन कमिटी/नवौँ सेसन अफ द बैंकक कन्भेनसन कमिटी कार्यक्रममा सहभागि हुन सचिव (शिक्षा) श्री चूडामणि पौडेललाई स्वीकृति दिने ।
११. छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।




प्रतिकृया