• २२ भदौ २०८३, सोमबार
  • ४ः३८ बिहान

सरकारको निर्णय: आठ सचिव सरुवा, बढुवा सचिवको जिम्मेवारी तोकियो

प्रकाशित मिति

२०८२ जेष्ठ १३ गते, मंगलवार ०१:५९

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विशिष्ट श्रेणीका आठ जना सचिवको सरुवा र दुई जनाको बढुवा गरेको छ। बैठकले विभिन्न मन्त्रालय तथा निकायका सचिवहरूको कार्यक्षेत्र हेरफेर गरेको हो।

National Life

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रशासनतर्फका सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । लोक सेवा आयोगका सचिव डिल्लीराम शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रशासनतर्फ ल्याइएको छ ।

संस्कृति मन्त्रालयका सचिव विनोद प्रकाश सिंह गत वैशाख २५ गते अनिवार्य अवकाशमा गएपछि त्यहाँ सचिव पद रिक्त थियो । त्यस्तै राष्ट्रपति कार्यालयका सचिव डा.रामप्रसाद घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुर्‍याइएको छ ।

Classic Tech Desktop

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोक सेवा आयोगको सचिवमा सरुवा गरिएको छ। गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ। महालेखा नियन्त्रक कार्यालयमा सचिव पद रिक्त थियो ।

बैठकले प्रशासनतर्फको रिक्त सचिव पदमा भूपाल बराल र प्राविधिकतर्फको रिक्त सचिव पदमा दीनानाथ शर्मालाई बढुवा गरेको एक मन्त्रीले जानकारी दिए । प्राविधिकतर्फ सचिवमा बढुवा भएका मिश्रलाई रिक्त जल तथा ऊर्जा आयोगमा पदस्थापन गरिएको मन्त्रालयले जानकारी दियो ।

सचिवमा बढुवा भएका बराललाई बागमती प्रदेशको मुख्यसचिवमा पदस्थापन गरिएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेका शोभाकान्त पौडेललाई गण्डकी प्रदेशको प्रमुख सचिव बनाइएको छ ।

बागमती प्रदेशमा नवनियुक्त सचिव बराललाई पठाएपछि त्यहाँ रहेका प्रमुख सचिव महादेव पन्थलाई हाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको र केही दिनमा अर्को जिम्मेवारीमा पठाइने जनाएको छ ।

प्रतिकृया