• ५ साउन २०८३, मंगलबार
  • ४:२० बेलुका

नेप्सेमा दोहोरो अंकको गिरावट

प्रकाशित मिति

२०८१ फाल्गुन २५ गते, आईतवार ०३:४५

फाल्गुण २५, २०८१ काठमाडौँ: नेपाली सेयर बजारमा पूर्वराजा देशको शासनसत्तामा फर्कने भन्ने सीमित स्वार्थकेन्द्रित तत्वहरुको हल्लाका कारण ठुलो असर देखिएको छ । अहिलेको अवस्थामा राजा फर्किन सक्ने सम्भावना भए वा नभएपनि सामाजिक संजालमा अनावश्यक पोष्टहरु राख्ने तथा सोही अनुरुपका आन्दोलन हुन थालेपछि लगानीकर्ताहरु भने बजारमा पेनिक सेल दिँदै बाहिरिएको देखिन्छ । उक्त हल्लाकै कारण सेयर बजारमा आज आइतबार ठुलो असर देखियो ।

हिजोदेखि भएको अनावश्यक हल्ला र बजार खुलेदेखि लगानीकर्ताहरुले बजारमा पेनिक सेल ल्याउनुलाई त्यसले उनिहरुको मनोविज्ञानमा नकारात्मक असर पारेको स्पष्ट देखिन्छ । आज दिनभरजस्तो पेनिक सेल हुँदा बजार उच्च अंकले घट्न पुग्यो । बजार खुलेदेखि नै लगातार ओरालो लागेको नेप्से अन्ततः ४६ अंकले घट्दै बन्द भयो । तर घट्दो बजारमा १० अर्ब भन्दा माथिको कारोबार हुँदै आगामी दिनको नेप्सेको बढावालाई भने साथ दिएको देखिन्छ ।

Kamana Sewa

आज पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने बिषयलाई अनावश्यक रुपमा प्रचारबाजी गरी राजा नै फर्किन लागेको जसरी आन्दोलन तथा नाराजुलुस गरिएपछि लगानीकर्ताहरु त्रसित बन्न पुगेको एक लगानीकर्ताले बताए ।

Classic Tech Desktop

‘सेयर बजारमा कुनै सामान्य फेरबदल तथा त्यसलाई असर पार्न सक्ने कुनै काम हुँदा त्यसले लगानीकर्ताको मनोबलमा ठुलो असर पार्छ,’ उनले भने, ‘नेपालजस्तो अपरिपक्व बजार र सोही अनुरुपका लगानीकर्ता रहेको ठाउँमा पूर्वराजाको बिषयलाई लिएर जुन हल्ला गरियो त्यसले धेरै नै असर गरेको देखिन्छ ।’

आज बजारमा जुन हिसावले सेयरमूल्य घटाएर कारोबार गरियो अर्थात लगानीकर्ताहरुले जतिमा खरिदकर्ता पाए त्यतिमै विक्री गरे त्यो पक्कै पनि स्वभाविक नभएको अर्का एक लगानीकर्ताले बताए । ‘गत हप्तासम्म सहज रुपमा चलिरहेको सेयरबजारमा आज एकाएक असहज परिस्थिति सिर्जना भयो,’ उनले भने, ‘त्यसले आज सस्तो मूल्यमा फालाफाल सेयर किन्ने व्यक्तिलाई पक्कै पनि नाफा त भयो होला तर, लगानीकर्ताको मनोविज्ञानमा खेल्दै गरिने यस्ता गतिविधिले बजारको दिगो विकास हुन भने सक्दैन ।’ नेपालमा लगानीकर्ताहरुलाई सेयर शिक्षासम्बन्धी ज्ञानको अभाव हुँदा सामान्य बिषयले पनि ठुलो असर पार्दै आएकोसमेत ति लगानीकर्ताले जानकारी दिए ।

यहि असरकै कारण आज कारोबारमा आएकामध्ये सबै समुहका परिसुचक ओरालो लाग्दा समग्र नेप्से परिसुचक ४६.३३ अंकले ओरालो लागेको हो । आज कारोबार अवधिभर पेनिक सेल भएकै कारण कुल ३ सय १५ कम्पनीका २ करोड २६ लाख ९१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ७ करोड ४० लाख रुपैयाँ पुगेको छ । आज कारोबारमा आएकामध्ये दुई कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लाग्दा अन्य २ कम्पनीको सेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

प्रतिकृया