छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै
प्रकाशित मिति
२०८० मंसिर २ गते, शनिबार ०८:४४
मंसिर २, २०८० जनकपुरधाम : मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व छठ पर्वको दोस्रो दिन शनिबार खरमा विधि गरिँदै छ । शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको छठको पहिलो दिन ‘नहाय-खाए’ गरिएको थियो ।
छठको दोस्रो दिन आज दिनभर उपवास बसी राति खीर बनाई देउतालाई चढाएर व्रतालुहरू खान्छन्, यस विधिलाई ‘खरना’ भनिन्छ । त्यस्तै, छठको मूल दिन आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई छठ पर्वको विधिवत रूपमा समापन गरिन्छ ।

छठका लागि घाटको सरसजावट अन्तिम चरणमा पुगेको छ। स्थानीयहरू पोखरी, नदी, कुवा लगायतका स्थानलाई झकिझकाउ बनाउँदैछन्। घाट निर्माण तथा टेन्ट लगाउने काम सम्पन्न भइसकेको छ भने अहिले झिलिमिली बत्ती लगाउने काम जारी रहेको छ ।

जनकपुरधाममा गंगासागर, दशरथ तलाउ, अरगजा सरलगायत दर्जनौँ पोखरीमा छठ पर्व मनाइने गरिन्छ । छठ पर्व घरेलु उत्पादनमा निर्भर रहेकोले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामललगायतको व्यवस्था गरेर त्यसलाई धोई पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पीठोबाट छठका सामग्रीहरू बनाइने गरिन्छ ।
संस्कृतिविद् रामभरोस कापडीले छठमा चढाइने वस्तुको शुद्धता नै यस पर्वलाई अन्य पर्वभन्दा फरक तुल्याएको बताउँछन् । यस पर्वमा सामान्य रुपमा नभै पूर्ण चोखोपनाले सतर्कतापूर्वक चामल, गहुँलाई केलाएर, धोएर, सुखाएर, पिधेर राखिने गरेको र यो चोखोपनाको विशिष्ट पक्षले नै यस पर्वलाई अन्य पर्वभन्दा फरक बनाएको कापडीले स्पष्ट पारे ।
छठ पर्वका लागि अहिले बजारमा चहलपहल बढेको छ। बजारमा बाँस र माटोबाट बनेका सामग्रीहरूको जताततै बिक्री भइरहेको छ ।
छठ पर्वमा माटोबाट बनेका घैँटो, हात्ती र बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतिलगायतको सामग्री प्रयोग हुन्छ ।




प्रतिकृया