संस्कृति प्रवर्द्धनसहितको कूटनीतिमा जोड
प्रकाशित मिति
२०८० भाद्र २३ गते, शनिबार ०४:१३

काठमाडौँ, २३ भदौ : नेपालले अन्य देश तथा अन्तर्राष्ट्रिय नियोगहरूसँगको सम्बन्ध स्थापना एवं विस्तार गर्दा संस्कृति प्रवर्द्धनलाई मुख्य आधार बनाउनुपर्ने धारणा जानकारले राख्नुभएको छ । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले नवनियुक्त राजदूत तथा संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधिको सम्मानमा शनिबार आयोजना गरेको अन्तक्र्रिया, बधाई तथा शुभकामना कार्यक्रमका वक्ताहरूले संस्कृति प्रवर्द्धनसहितको कूटनीति स्थापनामा जोड दिनुभएको हो ।
कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तथा कवि तुलसी दिवसले देशको प्रतिनिधित्व गर्ने राजदूतले औपचारिकमात्र नभई अनौपचारिकरूपमा पनि सम्बन्ध अघि बढाउन सक्नुपर्ने बताउनुभयो । सांस्कृतिक सचेतना र प्रवर्द्धनमा राजदूतको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । नेपाली भाषा, संस्कृति, रहनसहन, वेशभूषा चिनाउनका लागि परराष्ट्र मन्त्रालयबाटै राजदूतलाई अभिमुखीकरण तथा निर्देशन हुनुपर्नेमा संस्कृतिविद् दिवसले जोड दिनुभयो ।
“देश भौगोलिक सीमाभित्र हुन्छ । भाषा साहित्य संसारभरि फैलिएको छ । यो जीवन्त भएर बसेको हुन्छ । विदेशमा बस्नेहरूमा आफ्नो भाषा, संस्कृतिप्रति अझ बढी माया र लगाव हुन्छ”, उहाँले भन्नुभयो, “नेपालसँगको सम्पर्क टुटेकै कारण कोही पनि आफ्नो संस्कृतिबाट एक्लिन हुँदैन । त्यसलाई जोड्नका लागि विदेशस्थित दूतावासले भूमिका खेल्नुपर्छ ।”
नेपालको संस्कृति प्रवर्द्धनमा राजदूतको क्रियाशीलतामा संस्कृतिविद् दिवसले जोड दिनुभयो । नेपालको संस्कृतिलाई विदेशमा चिनाउन राजदूतहरूले साथ दिँदामात्रै पनि ठूलो फड्को मार्ने उहाँको भनाइ थियो । “देशको पहिचान देशभित्र मात्रै हुँदैन । भाषा र संस्कृतिले नागरिकको पहिचान दिनुका साथै विदेशमा बस्दा यहाँको संस्कृतिको महत्व अझ बढी हुन्छ”, उहाँले भन्नुभयो, “यसका लागि राजदूतले सहजीकरण गरिदिनुपर्ने हुन्छ । भाषा र संस्कृतिको प्रयोग गरिएन भने औपचारिकतामात्रै बाँकी रहन्छ, हराउँदै जान्छ ।” राजदूतहरू सांस्कृतिक कार्यक्रममा सरिक हुनुपर्ने कवि दिवसको भनाइ छ ।
आफू नेपाली संस्कृतिको प्रकृतिसँग सम्बन्ध प्रगाढ रहेको उहाँले बताउनुभयो । नेपालका लोकगीत, नाचगान, वेशभूषा, रहनसहनको प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध रहेको दिवसले बताउनुभयो । सोही कार्यक्रममा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापक डा खगेन्द्र लुँइटेलले विदेशमा नेपाली भाषा र संस्कृति प्रवर्द्धनका लागि राजदूतको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । संकृति र भाषाका माध्यामबाटै नेपाललाई विश्व समुदायमा चिनाउन सकिने उल्लेख गर्नुहुँदै उहाँले हामी कमजोर छौँ भन्ने मानसिकताबाट मुक्त हुनुपर्नेमा जोड दिनुभयो ।
देशको आफ्नो छुट्टै पहिचानका लागि संस्कृति महत्त्वपूर्ण औजार हुने उहाँको धारणा थियो । थाइल्याण्डका लागि नवनियुक्त नेपाली राजदूत धनबहादुर ओलीले नेपालका असल अभ्यासबारे विश्व समुदायलाई कसरी जानकारी दिन सकिन्छ भन्नेबारे सोच्नुपर्ने बेला आएको बताउनुभयो । संसारले सहिष्णुता चाहेको र नेपाल सहिष्णु मुलुकका रूपमा पहिचान बनाएकाले विश्व समुदायलाई शान्ति तथा सहिष्णुताको सन्देश दिनसक्ने उहाँको भनाइ थियो ।
कूटनीतिको ‘सफ्ट पावर’का रूपमा भाषा, संस्कृति रहने उल्लेख गर्नुहुँदै राजदूत ओलीले आधुनिक बसाइँसराइले नेपाली संस्कृतिलाई विस्तार गर्ने अवसर पनि सिर्जना गरेको बताउनुभयो । नेपाली भाषा तथा संस्कृतिलाई विश्व समुदायसँग जोड्न राजदूतले संयोजन गर्न सक्ने उहाँले बताउनुभयो । युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भाषा, संस्कृति, रहनसहन, वेशभूषा नेपालको पहिचान रहेको जनाउँदै यसको पुस्तान्तरण हुन आवश्यक रहेको बताउनुभयो । विदेशका विश्वविद्यालयमा पढ्ने र पढाउने जनस्रोतलाई परिचालन गरेर संस्कृति प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ थियो ।
कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले विदेशमा रहेका नेपाली परिवारले आफ्ना सन्ततिलाई नेपाली भाषा अनिवार्यरूपमा सिकाउन आवश्यक रहेको बताउनुभयो । सांस्कृतिक प्रवर्द्धनका लागि दूतावास र राजदूतको भूमिका रहनेबारे आफू जानकार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । संयुक्त राष्ट्रसङ्घीय स्थायी नियोग जेनेभाका लागि नेपालका प्रतिनिधि तथा स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले नेपालमा पर्यटन गतिविधि बढाउनका लागि पनि सांस्कृतिक प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो ।
विश्वभर पहिचानको लडाइँ चलिरहेकाले नेपालले आफ्नो लय बिर्सन नहुने उहाँको भनाइ छ । त्यस्तै विश्व समुदायमा नेपाली संस्कृति प्रवर्द्धनका लागि आफूले अधिकतम प्रयास गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालका अध्यक्ष वरिष्ठ लोकगायक बमबहादुर कार्कीले संस्कृति प्रवर्द्धनका लागि कुन क्षेत्रबाट कसरी काम गर्न सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रमा आयोजना गरिएको बताउनुभयो । नेपालको लोकसंस्कृतिलाई स्वदेशमा मात्र नभई विदेशसम्मै प्रवर्द्धन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
प्रतिकृया