इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि

प्रकाशित मिति

२०८० भाद्र ४ गते, सोमबार ०१:२९

spain

भदौ ४, २०८० काठमाडौँ: स्पेनले महिला विश्वकप फुटबलको उपाधि जितेको छ । इंग्ल्यान्डलाई हराउँदै स्पेनले पहिलोपटक महिला विश्वकप फुटबलको उपाधि जितेको हो । फाइनलमा आइतबार सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा इंग्ल्यान्डलाई स्पेनले १-० गोलअन्तरले हराएको हो । स्पेनले खेलको पहिलो हाफमै गोल गर्दै अग्रता लिएको थियो । स्पेनका लागि ओल्गा कार्मोनाले गोल गरिन् ।


खेलको २९औँ मिनेटमा कार्मोराले गोल गर्दै स्पेनलाई १-० गोलको अग्रता दिलाइन् । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनले इंग्ल्यान्डविरुद्ध दोस्रो हाफमा पनि राम्रो खेल्यो । खेलको ६९औँ मिनेटमा स्पेनले पेनाल्टी पायो । योसँगै अग्रता दोब्बर पार्ने सुनौलो अवसर पाएको थियो । भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतमा स्पेनलाई पेनाल्टी दिइएको थियो । तर, २-० गोलको अग्रता बनाउने मौका जेन्निफर हेर्मोसोले गुमाइन् । उनले प्रहार गरेको पेनाल्टी इंग्ल्यान्डकी गोलकिपर म्यारी इएरप्सले सजिलै बचाइन् ।


समूह ‘सी’ मा रहेको स्पेनले आफ्नो पहिलो खेलमा कोस्टारिकालाई ३-० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा जाम्बियालाई ३-० गोलअन्तरले हराएको स्पेनले समूह चरणको आफ्नो अन्तिम खेलमा जापानसँग ४-० को हार ब्यहोरेको थियो । त्यसपछि स्पेनले प्रिक्वार्टरफाइनलमा स्वीट्जरल्यान्डलाई ५-१ गोलअन्तरले हराएको थियो ।

प्रतिकृया