सिभिल र आइटीको लागि देशैभरिका विद्यार्थीहरुको रोजाई दिनेश रामजी स्मृति बहुप्राविधिक शिक्षालय
प्रकाशित मिति
२०८० श्रावण ५ गते, शुक्रबार ०४:४५
५ श्रावण २०८०, काठमाडौँ: नेपाल लगायत कुनै पनि राष्ट्रको विकास र प्रगतिमा प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । नेपालको सन्दर्भमा विभिन्न कारणले प्राविधिक शिक्षाको विशेष महत्व रहेको छ । सबैभन्दा बढी महत्व त प्राविधिक शिक्षाले अहिलेको जस्तो बेरोजगारी भएको समयमा रोजगारको अवसरको सिर्जना गर्दछ । नेपाल एउटा विकासोन्मुख देश हो जसको जनसंख्याको ठूलो हिस्सा कृषिमा निर्भर छ । यद्यपि, कृषि क्षेत्रमा रोजगारीको बजार सीमित छ, जसले गर्दा ठूलो संख्यामा बेरोजगार वा कम बेरोजगार व्यक्तिहरू छन् । प्राविधिक शिक्षाले विद्यार्थीहरूलाई विभिन्न उद्योगहरूको लागि आवश्यक व्यावहारिक सीप र ज्ञान प्रदान गर्दछ, उनीहरूले लाभदायक रोजगारी खोज्ने सम्भावनाहरू बढाउँछन् ।
यसको साथै राम्रोसँग विकसित प्राविधिक शिक्षा प्रणालीले दक्ष र दक्ष जनशक्तिको विकास गरी आर्थिक वृद्धिमा योगदान दिन सक्छ । यसले वैदेशिक लगानी आकर्षित गर्छ र देशमा नयाँ उद्योग स्थापना गर्न प्रोत्साहन गर्छ । यसको साथै प्राविधिक शिक्षाले सीपको कमीलाई सम्बोधन गर्दछ । प्राविधिक शिक्षाले परम्परागत शिक्षा प्रणालीमा प्रायः अभाव हुने विशेष सीपहरू उपलब्ध गराउनमा केन्द्रित हुन्छ । यी सीपको कमीलाई सम्बोधन गरेर, प्राविधिक शिक्षाले रोजगार बजारको मागहरू पूरा गर्नको लागि कार्यबल अझ राम्रोसँग तयार भएको सुनिश्चित गर्दछ ।

साथै प्राविधिक शिक्षाले ब्रेन ड्रेनमा पनि कमी ल्याउँछ । नेपालले ब्रेन ड्रेनको चुनौती सामना गरेको छ, जहाँ दक्ष पेशेवरहरूले स्वदेशमा उपयुक्त सम्भावनाको अभावमा विदेशमा अवसर खोज्छन् । एक बलियो प्राविधिक शिक्षा प्रणालीले आकर्षक करियर विकल्पहरू प्रदान गर्न सक्छ, दक्ष व्यक्तिहरूको विदेश पलायनलाई कम गर्न र देश भित्र प्रतिभा कायम राख्न सक्छ ।
प्राविधिक शिक्षाले गरिबी उन्मूलनमा पनि महत्वपूर्ण भूमिका खेल्दछ । व्यावहारिक सीपहरू प्रदान गरेर र व्यक्तिहरूलाई राम्रो रोजगारी सुरक्षित गर्न वा आफ्नै व्यवसाय सुरु गर्न सक्षम बनाएर, प्राविधिक शिक्षाले गरिबी न्यूनीकरण र जनसंख्याको जीवनस्तरमा सुधार गर्न योगदान दिन सक्छ ।

पुरातनवादी शिक्षामा विद्यार्थीले एमए सम्मको अध्ययन गरेपनि आफू स्वावलम्बन हुने किसिमको जागिर पाउन निकै कसरत गर्नुपर्ने हुन्छ । तर प्राविधिक शिक्षालयमा तीन वर्षको फार्मेसी, एचए, आइटी, सिभिल इंजिनियरिङ आदिको पढाईले विद्यार्थीले अलि सजिलो गरि रोजगार पाउन सक्षम हुन्छन् । त्यसैगरी छोटो अवधिको इलेक्ट्रिसियन, प्लम्बिङ, टेलरिङ, कार्पेन्ट्री लगायतको तालिम पश्चात उनीहरु बेरोजगार भएर बस्न शायदै पर्दैन ।
नेपालमा प्राविधिक शिक्षाको पूर्ण सम्भावनाको अनुभूति गर्न पूर्वाधारमा लगानी गर्न, उद्योगको आवश्यकतासँग मेल खाने पाठ्यक्रम नियमित रूपमा अपडेट गर्ने, सार्वजनिक–निजी साझेदारीलाई प्रवर्द्धन गर्ने र अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्न आवश्यक छ । यसो गर्नाले नेपालले प्राविधिक शिक्षाको शक्तिलाई सामाजिक–आर्थिक विकास र आफ्ना नागरिकको जीवनस्तरमा सुधार ल्याउन प्रयोग गर्न सक्छ ।
माथिका हरफबाट हामीले यो पक्का पनि महशुस गरिसक्यौं कि नेपाल जस्तो विकासोन्मुख देशमा प्राविधिक शिक्षाको महत्व कति छ । नेपालमा वि.स. २०४५ सालमा स्थापना भई प्राविधिक शिक्षाको शुरुआत गरि देश विकासमा महत्वपूर्ण योगदान दिन सीटिइभिटीले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । यसै सिटीइभिटी अन्तर्गत वि.स. २०७६ सालमा स्थापना भई सिन्धुपाल्चोकको चौतारामा स्थित रामजी स्मृति बहुप्राविधिक शिक्षालयले यो अभियानमा अर्को एउटा इट्टा थप्ने काम गरेको छ । यस शिक्षालयका दक्ष अध्यापक, चुस्त व्यवस्थापन र रमणिय वातावरणले यस शिक्षालयले देशैभरिका विद्यार्थीहरुलाई आफूतर्फ आकर्षण गर्न सफल भएको छ ।
सिन्धुपाल्चोकको चौतारामा स्थित दिनेश रामजी स्मृति बहुप्राविधिक शिक्षालयमा यस सालको भर्नाको लागि आवेदन दिने म्याद साउनको १२ गते सम्म रहेको छ । यो शिक्षालयमा अध्ययन गर्नको निम्ति फर्म भर्न योग्य हुनको लागि एसईईमा गणित, विज्ञान र अंग्रेजी अनिवार्य लिएर न्यूनतम जीपीए १.६ ल्याउनुपर्दछ । यहाँ पढाइने पाठ्यक्रमको कुरा गर्दा आइटी र सिभिलमा ३ वर्षे कोर्स रहेको छ । यसमा लाग्ने शुल्कमा सिभिलको रु. ७२,००० छ भने आइटीको रु. ६०,००० छ । सहुलियत पायो भने यो शुल्क रु. ४२,००० मात्रै हुन्छ । यस शिक्षालयमा सिराहा, सप्तरी, हुम्ला, जुम्ला, उदयपुर र कैलालीबाट विद्यार्थीहरु अध्ययनका लागि आउँदछन् । शिक्षालय शुरु भएको वि.स. २०७६ सालबाट हो । अहिलेसम्ममा १ ब्याच पास आउट भएका छन् । तिनीहरु मध्ये सिभिल पढेर पास आउट भएका मध्ये ४, ५ जनाले साइटमा गएर सुपरभाइजरको काम नै गर्न थालिसकेका छन् । आइटीको सन्दर्भमा धेरैजसोले लोकसेवाको तयारी गरिरहेका छन् भने १ जनाले ग्राफिक डिजाइन र भिडियो इडिटिङ सिकेर फ्रिल्यान्सिङ र कम्पनीमा पनि काम गर्न थालेका छन् ।
अहिले विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेशीने गरेको प्रसंगमा उक्त शिक्षालयको पढाई पश्चात विदेश गएर पढ्न मिल्ने के कस्तो छ भन्ने प्रश्नमा शिक्षालयका आइटी प्रमुख सुनिल घलेले भने, “मेडिकल बाहेक विदेश गएर ब्याचलर पढ्न विद्यार्थीले पाउँछन् र त्यसरी गई पनि राखेका छन् ।”
दिनेश रामजी स्मृति बहुप्राविधिक शिक्षालयका प्रिन्सीपल श्री रामचन्द्र दाहालले मातृभूमिसँग कुरा गर्दै शिक्षालयको विविध पहलुमाथि प्रकाश पारेका थिए । उनका अनुसार यो शिक्षालय २०७६/३/२८ मा परिषदको बैठकबाट यसको आधिकारिक जन्म भएको हो । चौतारा बहुमुखि क्याम्पसको शैक्षिक हाताभित्र यो शिक्षालयले पठन पाठन संचालन गरिरहेको छ । यस शिक्षालयमा दुइवटा कार्यक्रम डिप्लोमा इन सिभिल ईञ्जिनीयरिङ र डिप्लोमा इन इनफरमेशन टेक्नोलोजि कार्यक्रम संचालन भैरहेको छ । पहिलो ब्याचमा सिभिलमा ४८ जना भर्ना भएका थिए । तिनीहरु मध्ये ३८ जनाले पढाई सकेर बिदाइ पनि गरिसकिएको छ । आइटीमा पहिलो ब्याचमा २१ जना भर्ना भएकोमा १७ जनाले रजिष्ट्रेशन गरे र पढाईमा भाग लिने १४ जनाले पढाई पूरा गरिसके । शुरुमा भर्ना ४८÷४८ भएता पनि ड्रप आउट भएपछि सिभिल र आइटीमा ४२ र ३५ जना कायम रहेको छ । तेश्रो ब्याचमा पूरा भर्ना गर्न नसकिएकोले ४८ मा ४७ र ४८ मा ४० भर्ना गर्दा अहिले ४४ र ३६ विद्यार्थी अहिले अध्ययनरत छन् ।
प्राविधिक विषय पढ्नुपर्दछ र यसो गर्दा काम पाउन सजिलो हुन्छ र छिटै आत्मनिर्भर बन्न सकिन्छ भन्ने अवधारणा अभिभावक र विद्यार्थीहरुमा विकास भए पनि यसपालीको भर्नामा कोटा अनुसारको भर्ना गर्न देशै भरि समस्या छ । फलतः सिभिलमा २८ जना भर्ना भएकोमा २४ जना कायम छन्, आइटीमा ३७ जना विद्यार्थीहरु अहिले पढिरहेको अवस्था छ । यस शिक्षालयमा निकटवर्ती जिल्लाका साथसाथै बाहिरी जिल्लाको खासगरी मधेश र कर्णालीका विद्यार्थीहरु बढी छन् । त्यसैगरी नगरपालिका लगायत चौतारा, साँघा, सिन्धुली र सिन्धुपाल्चोकका विद्यार्थीहरु पनि छन् ।
शिक्षालयको रिजल्टको कुरा गर्दा यसको रिजल्ट पछिल्ला दिनमा निकै राम्रो हुँदै आइरहेको छ । यसले कक्षा संचालन गर्दा प्रयोगात्मकलाई बढी जोड दिएको पाइन्छ । यस शिक्षालयमा म्यासनरी, प्लम्बिङका प्रयोगात्मक कक्षा संचालन हुने गर्दछन् । केमिस्ट्री ल्याब, फिजीक्स ल्याब, कम्प्युटर ल्याब, कार्पेन्ट्री वर्कशप लगायत इलेक्ट्रिकल वर्कशप सेटअप भएका छन् । हाइड्रोलिक, वाटर सप्लाई स्ट्रक्चर, मेकानिक सोएल ल्याबका सामानहरु पनि जम्मा भएका छन् । शिक्षालयलाई अलिकता समस्या भनेको स्थान अभावको कारणले यिनीहरुलाई सेटअप गरेर प्रयाक्टिकल गराउन अलिकता समस्या परेको छ । अरु सेटअपहरु स्टोर म्यानेजमेन्ट आदिका कुरामा राम्रै गरी काम अगाडि बढिराखेको छ । पुस्तकालयको कुरा गर्ने हो भने हामीले पूर्ण रुपमा पुस्तकालय व्यवस्थापन गर्न सकिराखेका छैनौ ।
यो रामजी स्मृति बहुप्राविधिक शिक्षालयको भौतिक योजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश भएको छ । मन्त्री परिषदको २०७६/९/२२ को पत्र अनुसार यो पी१ प्रोजेक्ट हो भने प्रदेश सरकारले यसलाई गौरवको आयोजनाको रुपमा अगाडि बढाएको छ । २०७६/११/५ को मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रिय वन क्षेत्रबाट १७ रोपनी यस शिक्षालयलाई प्राप्त भएर ३ वटा बिल्डिङहरु अहिले निर्माण सम्पन्न हुने अवस्थामा छन् । लगभग १७ रोपनी प्राप्त भैसकेको छ र तीनवटा शैक्षिक भवन निर्माणाधिन अवस्थामा रहेको छ । दोश्रो चरणमा यो शिक्षालय लगभग १०० रोपनी वन क्षेत्रको प्राप्तिको प्रक्रियामा अगाडि बढ्नेछ । यसको लागि मास्टर प्लान बनिसकेको छ । यसको एआइए भएर डीपीआर स्वीकृतिको अवस्थाको प्रक्रियामा अगाडि बढेको छ । यसको लागि पूर्व सामाजिक विकास मन्त्री तथा वर्तमान भौतिक योजना प्रदेश मन्त्रीले नै विशेष पहल गरिरहनु भएको अवस्था छ । यसले इञ्जिनीयरिङ, एग्रीकल्चर र हेल्थ सेक्टरमा लगभग ७ वटा कार्यक्रमहरु संचालन गर्दै रहेको छ । खासगरी तीनै सेक्टरमा सेन्टर अफ एक्सलेन्स हुने भिजन शिक्षालयले लिएको छ । देशको इकोनोमिक ग्रोथलाई नै सपोर्ट गर्ने यसले मिशन राखेको छ ।
छात्रवृत्तिको कुरा गर्दा प्रत्येक सत्रमा ५ जनालाई छात्रवृत्ति दिइन्छ जसमा प्रवेश परिक्षामा सर्वोत्कृष्ट हुने एक जना र सीटीइभीटीको सिफारिसमा ४/४ जना वर्गीकृत छात्रवृत्तिमा अध्ययनरत हुन्छन् । चौतारा साँघा चोक गढी नगरपालिकाले २५ जना विद्यार्थीहरुलाई २० देखि २५ हजारको दरले छात्रवृत्ति उपलब्ध गराएको छ । त्यस्तै एउटा रेस्ट प्रोजेक्टले ४ जना विद्यार्थीहरुलाई वार्षिक १८ हजारको दरले छात्रवृत्ति उपलब्ध गराएको छ । साथै अन्य पालिकाहरुसँग पनि शिक्षालयले सहकार्य गरेर यो अभियानलाई अगाडि लगिराखेका छौं । विद्यार्थीहरु आएको पालिकाबाट टेक्निकल विषय पढ्ने विद्यार्थीहरुलाई पालिकाले छात्रवृत्ति दिने वचनबद्धता दिएको छ । छात्रवृत्तिमा कोटाको कुरा गर्ने हो भने कर्मचारीको परिवारबाट १ जना राखिएको छ । पहिले शिक्षालयले प्रत्येक पालिकालाई १, १ वटा कोटा राखेका थियो, अहिले आएर संचालक समितिले पालिका नछुट्याएर जिल्ला भरिलाई १२ वटा कोटा निर्णय गरेको अवस्था छ । त्यसैगरी प्रि डिप्लोमाबाट ४÷४ जना साथै लक्षित वर्गलाई सहुलियत पक्षको ६÷६ जना कोटा छ । त्यसैगरी जहाँ शिक्षालयको भौतिक संरचना बन्दैछ त्यहाँको उपभोक्तालाई पनि समेट्ने गरी १ जना कोटा छुट्याइएको छ ।
शिक्षालयको शुल्कको कुरा गर्ने हो भने यो अरु नीजि कलेजको तुलनामा तुलनात्मक हिसाबले सस्तो नै छ । आइटीको पूर्ण शुल्कमा रु. ६०,००० र सहुलियत शुल्कमा विद्यार्थीले रु. ४२,००० तिर्नुपर्दछ भने रु. ४,००० धरौटी राखिएको छ भने सिभिलको रु. ७२,००० र रु. ४२,००० छ । यो शिक्षालयमा पढ्नको लागि यो एउटा आकर्षण पैदा गर्ने तत्व पनि हो । त्यसैगरी छात्रवृत्तिको कुरा अर्को प्लस प्वाइन्ट छ । प्रायाक्टिकललाई बढी जोड दिइएकोले विद्यार्थीहरु खुशी छन् ।
अहिले १७ रोपनी जग्गा प्राप्ति भएको हुनाले तीनवटा बिल्डीङहरु सामाजिक विकास मन्त्रालयको बजेटमा सार्वजनिक निर्माण कार्य ईकाई धुलिखेलमा कन्ट्रयाक्ट अगाडि बढीराखेको छ । अहिले तीनवटा बिल्डीङ निर्माण हुँदै गर्दा १७ देखि १८ करोड रकम विनियोजन भएको छ ।

सर्ट एनालाइसिस गर्दा यो शिक्षालय सीटिइभिटीबाट संचालित शिक्षालय हो । यसका बजेट कार्यक्रमहरु स्वीकृत भएका छन् । शिक्षालयमाा वर्कसप, पुस्तकालय, इन्टरनेटको सुविधा छ । मास्टर प्लान फाइनल भएको अवस्था छ । जिल्लाभरिकै एउटा मात्रै शिक्षालय हुनु यसको सबल पक्ष हो भने केही कमजोरी पक्ष पनि छन् ।
सीटीइभीटीद्वारा संचालित चौतारा स्थित शिक्षालयमा पढाइने विषयहरुको बारेमा परिचय तथा प्रगति विवरण
यसमा प्रशस्त अवसरहरु छन् । पीएलओ प्रोजेक्ट पनि यसको अवसर हो । स्थानीय सरकार र समुदायको शिक्षालयले राम्रो समर्थन पाएको छ । यसैगरी शिक्षालय थप जग्गाको प्रक्रियामा पनि छ । बहुमुखी क्याम्पससँग समन्वय गरेर कक्षाहरु संचालन गरिराखेको छ । सीटीइभिटी, प्रदेश मन्त्रालयसँग यसको पुर्ननिर्माणको लागि शिक्षालयले समन्वय गरिराखेको छ । सार्वजनिक इकाई धुलिखेल मार्फत यी निर्माण कार्य भैरहेकोले यी संरचनाको निर्माण भैराखेको छ । त्यो संस्थासँग पनि शिक्षालयको नियमित कोअर्डिनेशन भैरहेको अवस्था छ ।
शिक्षालयले लामो अवधिको कार्यक्रमका साथै छोटो अवधिको कार्यक्रम पनि संचालन गरिरहेको छ जसको माग बढी छ । जस्तै टेलरिङ, ब्युटिसियन जुन शिक्षालयको विषयसँग सम्बन्धित हुँदैन । तर पनि शिक्षालयले स्थानीय निकायले माग गरिसकेपछि प्रदेश सरकारको अनुमति लिएर छोटो अवधिको ३९० घण्टाको तालिमहरु संचालन गरिरहेको छ । प्लम्बिङको पनि गरिराखेका छ, कम्प्युटरमा पनि धेरै माग छ । कम्प्युटरको छोटो अवधिको कोर्सलाई स्थानीय तहले माग गरेको छ त्यसलाई सम्बोधन गर्ने कोसिस गरेका छ । अब एकाडेमिक कोर्समा यसै शैक्षिक सत्रबाट थप दुइवटा कार्यक्रमहरु संचालन गर्ने योजनामा छ । एउटा फार्मेसी र जियोमेट्रीक्स, यी दुईको सम्बन्धनको स्वीकृतिको प्रक्रिया अगाडि बढाएको छ । यी दुईवटा मध्ये फार्मेसी चाहिं स्वीकृति गर्ने भन्ने आश्वासन पाएको छ ।
हेल्थ सेक्टरको कार्यक्रमलाई अलि बढी फोकस गर्नुपर्दछ र एग्रीकल्चरको पनि ल्याउनुपर्दछ भनेर स्थानीयले भन्नुभएको छ । जिरी र रामेछापमा एग्रीकल्चर छ त्यसैले यसलाई एग्रीकल्चर नभनेर इञ्जिनीयरिङ र हेल्थसँग जोडेर अगाडि लाने भन्ने कुरा माथि नेताहरु र मेयरहरुसँग बसेर छलफल अगाडि बढेको छ । सिभिलको हकमा ब्याचलर इञ्जिनीयरिङ जति छन् त्यहाँ उनीहरुले इन्ट्रयान्स दिन पाउँछन् । आइटीको हकमा पनि बीआइटी, बीएससी, सीएसआइटी कलेजहरु प्रशस्त छन् । त्यहाँ हाम्रा विद्यार्थीहरुले इन्ट्रयान्समा नाम निकालेर अगाडिको अध्ययन गर्ने प्रशस्त ठाउँ छ ।
शिक्षालय सीटिइभिटीको नियम अनुसार चल्नुपर्दछ । सीटीइभिटी भैसकेपछि आय आर्जनका कार्यक्रमहरु शिक्षालयले प्लान गर्दछ । एकडेमिक कोर्स भएको हुनाले सेमेस्टर सिस्टममा जाँदा शिक्षालयले लर्न अर्न पे भन्ने अवधारणा अगाडि सारेको छ । कमसेकम विद्यार्थीले यहाँ पढ्दै कमाउन सके भने राम्रो हुन्छ । उनीहरुले तिर्ने फि कमसेकम यहीं कमाएर तिर्न सकुन् भन्ने शिक्षालयको चाहना हो । इञ्जिनीयरिङको हकमा प्रोडक्ट भन्दा पनि सर्भिस बढी दिनुपर्ने, सर्भिस दिनलाई शिक्षालयका विद्यार्थी थर्ड इयरमा जाँदा बल्ल उनीहरुलाई नो हाउ थाहा हुने भयो । त्यसको लागि शिक्षकहरु बढी संलग्न हुनुपर्ने हुन्छ । सर्भिस परिवर्तन गर्न अघि नगरपालिकासँग नक्सा पासको कुराहरु, बिल्डिङ डिजाइनका कुराहरुसँग समन्वय गरिराखेको छ । कन्ट्रयाक्टर र उनीहरुको एसोसियसनसँग कोअर्डिनेशन गरिराखेको छ । त्यसैगरी बैंकहरुसँग सिभिलको हकमा भ्यालुएसनको कुरामा जोड्न कोशिस गरिराखेको छ भने आइटीको हकमा विद्यार्थीहरुलाई वेबसाइट डिजाइन लगायतका कामहरुमा संलग्न गर्ने प्रयास गरिएको छ । परीक्षा बेलाबेलामा भैरहने हुनाले विद्यार्थीहरुलाई चाहे अनुसार परिचालन गर्न अलिकता कठिनाई भैरहेको छ ।
शिक्षालय आफै आत्मनिर्भर हुनलाई यसले लिने भनेको त फी कलेक्सन नै हो, फी मिनिमम राखिएको छ र त्यो फी सम्पूर्ण केन्द्रिय कार्यालयमा नै पठाउनुपर्ने हुन्छ । केन्द्रिय कार्यालयले टिचीङ सामाग्रीदेखि लिएर कर्मचारीको तलब भत्ता बजेट व्यवस्थापन गरिराखेको हुनाले शिक्षालय आफैले बाहिरी संस्थाजस्तो भएर आफैले इनकम जेनेरेट गरेर सरकारसँग तलब भत्ता नमाग्ने गराउन त अलि अर्कै ढंगले सोच्नुपर्दछ । शिक्षालय सरकारी संस्था भएकोले सरकारसँग बढी अपेक्षा राखेको अवस्था हो ।




प्रतिकृया