• ४ साउन २०८३, सोमबार
  • २:२५ बिहान

सांसद रघुजी पन्तकाे कटाक्ष : सरकारको १०० दिनको उपलब्धिमा बच्चा कति जन्मिएको उल्लेख भएनछ

प्रकाशित मिति

२०७९ चैत्र २३ गते, बिहीबार ०३:१७

चैत २३, २०७९, काठमाडौँ: नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारले एक सय दिन पूरा गरेको विषयमा कटाक्ष गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले १०० दिनमा सरकारले गरेका कामका बारेमा पढ्दा कुनै ठोस काम नभएको बताए।


सरकारले गरेको कामको विषयमा पढ्दा त्यस अवधिमा जन्मिएका बालबच्चाका विषयमा उल्लेख नभएको भन्दै उनले व्यंग्य गरेका छन्।

Kamana Sewa

‘हिजोको बिहान र आजको बिहान गयो। किन गयो भन्दाखेरि सरकार गठन भएको १०० दिन पुगेछ। गोरखापत्रमा दुई पृष्ठ ढाकिने गरी ३७ बुँदे १०० दिनमा सरकारले गरेको कामको विवरण पढ्दै गयो। ३७ बुँदामा ३८औं बुँदा राख्नुपर्थ्यो त्यो छुट्यो,’ उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री भएदेखि यता नेपालका अस्पतालमा कति बालबच्चाको जन्म भयो त्यो कुरा उल्लेख भएनछ। कति मिलिलिटर पानी पर्‍यो, कति घाम लाग्यो त्यो विषय पनि उल्लेख भएनछ।’

Classic Tech Desktop

उपलब्धिमा ठोस कामहरू नभएको पनि उनले बताए। अहिलेसम्म मन्त्रिपरिषद्को बैठकले पूर्णता पाउन नसकेको हुँदा जनता पनि आशावादी नभएको उनको भनाइ थियो।


‘किसानका समस्याका बारेमा त्यसलाई समाधान गर्ने विषयमा कुनै चर्चा छैन। न मुलुकको गम्भीर आर्थिक अवस्थाबारे कुनै भिजन छ। न त्यसका लागि गरिएको कामको उल्लेख छ। किनभने काम त गरेकै छैन,’ उनले भने, ‘एउटासँग विवाह गर्‍यो, अर्कोसँग पोइला गयो र केही भाइ जम्मा गरेर टिकेको सरकार अहिलेसम्म मन्त्रिपरिषद त बनाउन सकेको छैन त्यस्तोले के गर्ला भनेर जनता त्यसप्रति आशावादी नहुनु स्वभाविक छ।’

प्रतिकृया