• 11:01 am

अवस्था ठिक नभएका २४ र अनावश्‍यक हर्न बजाउँने ३२ ओटा सवारी साधनका चालक कारबाहीमा

प्रकाशित मिति

२०७९ माघ ४ गते, बुधबार १२:४९

४ माघ, २०७९, काठमाडौँ: काठमाडौँको किर्तिपुरमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नराखी सवारी साधन चलाउने २४ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । कारवाहीको क्रममा लाईट नवल्ने, टायर घिस्रिएका टाटासुमो, पानी ट्‍याङकर र पिकअप गाडिहरु चलाउदै गरेका चालकहरुलाई कारबाही गरिएको हो ।


तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका२४ ओटा, कागजपत्र साथमा नभएका ६ ओटा र सवारी चालक अनुमती पत्र नभएका २ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ । साथै सवारी साधनमा अनावश्यक रुपमा प्रयोग गरिएका १० ओटा सवारी साधनका लाईटहरु समेत हटाइएको छ ।


सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सत्य नारायण थापाको कमाण्डमा आज दिउँसो खटिएको ट्राफिक प्रहरीको टोलीले किर्तिपुर क्षेत्रमा १ सय ५५ ओटा सवारी साधन चेकजाँच गरेको थियो । अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्नुका साथै यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्नको लागी कारबाही अभियानलाई तिब्रता दिएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिनु भयो ।


त्यस्तै चेकिङकै क्रममा अनावश्‍यक रुपमा हर्न बजाएर ध्वनी प्रदुषण गर्ने ३२ जना चालकलाई पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आजै ट्राफिक प्रहरीले कारवाही गरेको छ भने २७ ओटा सवारी साधनहरुमा प्रयोग गरिएका सोली समेत निकालिएको छ । पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारवाहीलाई थप तिव्रता दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

प्रतिकृया