गैर आवासीय नेपाली संघद्धारा विश्वभर मनाइने अन्तर्राष्ट्रिय अप्रवासी श्रमिक दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त
प्रकाशित मिति
२०७९ पुष ३ गते, आईतवार ०५:०३
३ पुस २०७९, काठमाडौँ: विश्व व्यापीकरणका कारण एक देशबाट अर्को देशमा जानेको संख्या पनि बढ्दो क्रममा छ । रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई सामान्य रूपमा आप्रवासन भनिन्छ । रोजगारीका लागि, द्वन्दका कारण शरणार्थी बनेका र अन्य विविध कारणले अर्को मुलुकमा जाने गरिएको पाइन्छ । आप्रवासीहरु जुन देशमा पुगेका छन्, त्यही देशको कानुन अनुसारको सेवा–सुविधा पाउनु भन्ने विश्वव्यापी मान्यता हो ।
सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । ’प्रवासी र शरणार्थीहरुसँग भविष्य निर्माण’ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाईदैछ । यस वर्षको दिवसलाई नेपालमा ’वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान ः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नाराका साथमा मनाउन लागिएको छ ।

नेपाल सरकारको तथ्यांक अनुसार, आर्थिक वर्ष २०६५/६६ देखि ०७८/७९ सम्ममा करिब ६० लाख युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका छन् । उनीहरुले पठाएको रेमिट्यान्स्ले नेपालको अर्थतन्त्र धानेको छ । तर त्यही वैदेशिक रोजगारीकै क्रममा हालसम्म १० हजार ९ सय ३२ जनाले मृत्युवरण गरेका छन् भने २ हजार १ सय २५ जना गम्भीर विरामी छन् । वैदेशिक रोजगारी र आप्रवासनमा देखा परेका यी समस्या न्यूनिकरणका लागि संघ सदैव सचेत र जिम्मेवार छ । भर्खरै संघले सरकारसंग वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सरकारसंग समझदारीमा हस्ताक्षर गरेको छ । सो समझदारी अनुसार हाल कार्यविधि समेत आइसकेको छ । श्रम बैंकको स्थापना, रेमिटन्यासलाई उत्पादनमुलक क्षेत्रमा लगाउने, तथा सीप सिकाई, समुदायस्तरमा जनचेतना गन्तव्य मुलुकको भाषा, कानून लगायतका सबै पक्षलाई श्रमिकको पहुँचमा ल्याउन नेपाल सरकार र सरोकारवालासंग संघले सहकार्य गर्दै आएको छ । आप्रवासनमा गएका र विविध कारण अवैधानिक रुपमा विदेशमा बसोबास गर्ने नेपाली श्रमिकको संख्या उल्लेख्य रहेकोले संघले ति कामदारलाई स्वदेश फिर्ता ल्याउनेदेखि स्वदेशमा आइसकेपछि पनि पुर्नएकिकरण गर्दै स्वरोजगार बनाउन विभिन्न योजनाहरु अघि सारेको छ । ती योजना कार्यान्वयनका लागि संघले नेपाल सरकारसहित सरोकारवाला निकायसंग सहकार्य गरिरहेको छ । यसैगरी, कयौं नेपालीहरुले युरोप अमेरिका छिर्ने नाममा गैरकानूनी रुपमा गलत बाटो हुँदै अन्तर्राष्ट्रिय सीमा पार गर्ने क्रममा ज्यान गुमाएको तितो सत्य पनि हामी सामु छ । रोजगारीमा ठगी, बाध्यकारी श्रम, शोषण, यातना तथा महिलामाथि हुने हिंसादेखि मानव तस्करी जस्ता समस्या थप विकराल बन्दै गएका छन् ।

प्रभावकारी उजुरी संयन्त्रको अभाव, आवश्यक सूचना नदिइने, तालिम सञ्चालनमा लापरबाही र स्वास्थ्य परीक्षण सम्बन्धी समस्या, अनुगमनको अभाव लगायतका समस्या पनि आप्रवासी नेपाली कामदारले झेलिरहेका छन् । यस्तै समस्या र चुनौतीहरुलाई सामाना गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसंग सहकार्य गर्दै कानूनी तथा नीतिगत सुधारको माग गर्दै आएको छ । यसका साथै, संघले विश्वभर छरिएका नेपालीहरुको सहयोग उद्धारकोलागि अन्तर्राष्ट्रिय आप्रवासी सम्बन्धी संस्थाहरुसंग सहकार्य गर्दै आएको छ । आगामी दिनमा समेत संघ आप्रवासीका चुनौतीहरुलाई चिर्नको लागि सम्बन्धित पक्षसंग सहकार्य गर्दै हातेमालो गरेर अघि बढ्न चाहन्छ ।
यस अवसरमा गैर आवासीय नेपाली संघले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलताको कामना गर्दै यसको सकारात्मक सन्देश जनस्तरसम्म पुग्न सकोस् र सरकारका कानून तथा नीतिको प्रभावकारी कार्यान्वयन होस् भन्ने चाहना राख्दै शुभकामना व्यक्त गरेको छ ।




प्रतिकृया