• ५ साउन २०८३, मंगलबार
  • ५:५३ बेलुका

रविको सांसद पद खारेजी मागसहित सर्वोच्चमा रिट

प्रकाशित मिति

२०७९ मंसिर २८ गते, बुधबार ०३:५५

२८ मंसिर २०७९, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजी मागसहित बुधबार सर्वोच्च अदालतमा रिट परेको छ । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेको सांसद पद खारेजी मागसहित सिन्धुली घर भइ हाल काठमाडौंमा बस्दै आएका युवराज पौडेल ‘सफल’ले रिट हालेका हुन् । सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा लामिछानेको सांसद पदसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि खारेजी माग गरिएको छ।


‘मतदान गर्ने, उम्मेदवार बन्ने र राजनैतिक दल खोल्ने अधिकार केवल नेपाली नागरिकलाई मात्रै प्रदान गरिएकोले विपक्षी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र सदस्यता गैरकानूनी घोषणा गरी पाऊँ’, रिटमा भनिएको छ, ‘सो हैसियतमा प्राप्त गरिएको सम्पूर्ण लाभ अर्थात् मतदाता भएर गरिएको मतदान, निर्वाचनमा भएको उम्मेदवारी र त्यस्तो उम्मेदवारी आधारमा प्राप्त सांसद पद (प्रतिनिधि सभा सदस्य) समेत उत्प्रेषणको आदेशले बदर गरी पाऊँ।’

Kamana Sewa

त्यस्तै चितवन २ बाट विजयी भएका रविको सांसद पदलाई पनि मान्यता नदिन भनिएको छ। ‘यस्तो गैरकानुनी पद, हैसियत र लाभलाई मान्यता नदिनु र निर्वाचन कार्यालयमा अभिलेख भएको निजको राजनैतिक दलको सदस्यता एवम् सभापतिको पद खारेज गर्नु भनि विपक्षीहरु नाममा परमादेशको आदेश जारी गरी पाऊँ’, अगाडि भनिएको छ।

Classic Tech Desktop

रिटमा यो मुद्दाको अन्तिम किनारा नलागेसम्म रविलाई सांसदका रुपमा काम गर्ने कुरामा रोक लगाउन पनि माग गरिएको छ । ‘यो मुद्दाको अन्तिम किनारा नभए सम्म निज रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्यको रुपमा उपस्थित हुन र कार्य गर्न श्री सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी रोक लगाई विपक्षीहरुका नाममा सो कुरा जानकारी गराई पाऊँ’, रिटमा उल्लेख गरिएको छ।


रिटमाथि पुस ६ गतेको संवैधानिक इजलासमा पेसी तोकिएको छ। रविको नागरिकता विवादमा अहिले काठमाडौं प्रहरी परिसरले पनि छानबिन अघि बढाएको छ।

प्रतिकृया