आर्थिक संकट राष्ट्रिय समस्या भइसक्यो, मिलेर गए समाधान हुन्छ : अध्यक्ष गोल्छा
प्रकाशित मिति
२०७९ मंसिर २८ गते, बुधबार ०५:०५
२८ मंसिर २०७९, काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक संकट राष्ट्रिय समस्या भएको र सबै मलेर गए समाधान हुने बताएका छन् । बुधबार नेपाल हस्तकला महासंघको स्वर्ण वर्षको समापन तथा १० औं हस्तकला दिवसको शुभारम्भ समारोह कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।
उनले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरू आइरहेको बताउँदै अर्थतन्त्रको अहिलेको अवस्थालाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने बताए । ‘अहिले नेपालको लागि आर्थिक संकट चुनौती पूर्ण अवस्थामा रहेको छ, यस्तो अवस्था धेरै लामो समयसम्म रह्दैन भन्ने विश्वास लिन सक्छौं, यसको लागि सरकारी, निजी लगायत सबै क्षेत्रसँग सहकार्य गरेर गए समाधानको हुन्छ,’ उनले भने ।
गोल्छाका अनुसार उद्योग वाणिज्य महासंघ अहिले अर्थतन्त्रलाई बचाउ भन्ने नाराका साथ अगाडि बढेको छ । ‘राष्ट्रिय बैंकले मुद्रा स्मृति १२ प्रतिशत हुने आँकलन गरेको छ, अहिलेसम्म हामीले मूल्य वृद्धि १२ प्रतिशतसम्म झेलेका थिएनौं, उक्त मूल्य वृद्धि हुँदा सर्वसाधारणको क्रय शक्ति कम भएर जान्छ, किन भने आय सीमित छ, जीवन कष्टकर बन्छ, त्यसैले यो समस्या जनताको लागि पनि ठूलो समस्याको रूपमा रहेको छ,’ उनले भने । कुनै पनि आर्थिक गतिविधि नहुँदा फेरी रोजगारीको सिर्जना हुन नसकेको पनि गोल्छाले बताए । मुलुकले आफ्नो अर्थतन्त्र सबल बनाउँदै लैजान थप योजनाबद्ध रुपमा अघि बढ्न जरुरी भएको उहाँले औंल्याए ।
अहिले हरेक क्षेत्र संकुचनमा परेको पनि गोल्छाले बताए । ‘सरकारले अहिले गत वर्षमा भन्दा १९ प्रतिशत कमले राजश्व संकलन गरेको छ, साधारण खर्च पनि सरकारलाई धान्न गाह्रो परेको छ, अर्थ विज्ञहरूले भोलिका दिनमा अझै चुनौति आउन सक्ने आँकलन गरिरहका छन्, यो चुनौतिपूर्ण समयले गर्दा आय कर पनि धेरै काम हुने आकलन गरिएको छ, आय कर पनि संकलन कम भयो भने साधारण खर्च पनि टिकाइ राख्न पनि सरकारलाई हम्मेहम्मे हुन्छ, उनले भने ।
अहिले बिजुलीको खपत उद्योगहरूमा ३० देखि ३५ प्रतिशतले कम भएको पनि उनले बताए । उनका अनुसार ३० देखि ४० प्रतिशतसम्म डिजेलको खपत पनि कम भएको र ढुवानी व्यवसायीहरूले ५० देखि ६० प्रतिशतसम्म व्यवसाय संकुचनमा रहेको गोल्छाले जानकारी दिए । यस्तो बेला सहकार्य गर्न जरुरी रहेको उनको भनाइ छ । यस समस्याबाट निस्केर झन् बलियो भएर निस्कन सक्ने निजी क्षेत्रसँग क्षमता रहेको पनि गोल्छाले बताए । अहिलेका समस्याको जरो तरलताको अभाव र ब्याजदर रहेको र यसको समाधान गर्नुपर्ने उनको भनाइ छ ।
ब्याजदर ५० प्रतिशतले बढेको छ । मुद्धतिमा ७ प्रतिशत बढेको छ । ‘यसले बैंकहरुले अनावश्यक रूपले होडबाजी गरेर डिपोजिटमा ब्याजदर बढाएका देखाएको छ, त्यसले ७ प्रतिशत मात्र बढेको छ, ५० प्रतिशत बढेको ब्याजदरले अर्थतन्त्रलाई ठप्प बनाएको छ, यसमा राष्ट्रिय बैंकले कुनै निर्देशन जारी गर्न जरुरी छ, उनले भने । सहकार्य गरेर अगाडि नबढे ठूलो दुर्घटना निम्त्याउन सक्ने पनि उनको भनाइ छ ।
प्रतिकृया