• १३:३४ २०८० चैत्र १६ गते
  • 1:34 pm

बुद्ध एयरका प्रबन्धक बस्नेतले आरजु राइस मिलमा गरे ५० करोड लगानी

प्रकाशित मिति

२०७९ मंसिर २३ गते, शुक्रबार ०७:३७

Aaraju Rice Mill 1 8XLfV2j1fF

गाउँमै मिल संचालन भएपछि बेलबारीका किसान खुसी

२३ मंसिर २०७९, काठमाडौँ : मोरङको बेलबारी ९ मा झण्डै ५० करोड लागतमा आरजु राइस मिल स्थापना भएको छ । उक्त मिल संचालनको अन्तिम तयारीमा छ । प्रति वर्ष २५ हजार टन धान कुट्न सक्ने क्षमता रहेको यो मिलका संचालक हुन् बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत । धान उत्पादक किसानले न्यूनतम समर्थन मूल्य नपाउने, बिचौलियाले नाफा धेरै खाने, धानको बिउको व्यवस्थापनमा विभिन्न झन्झट व्यहोर्नुपर्ने र बिक्री हुँदा पनि समयमै पैसा नपाउने किसानको समस्याको समाधान आफूहरु गर्ने बस्नेतको दाबी छ । यति मात्रै होइन आरजु राइस मिलले अन्य राईस मिलले जस्तो भारतबाट धान नल्याउने, स्वदेशमै उत्पादन भएको धानमात्रै खरिद गर्ने जनाएको छ ।


मिलको लक्ष्य धानको आयात घटाउने र स्वदेशी धानको प्रबर्द्धन गर्ने पनि रहेको छ । जसले राष्ट्रिय अर्थतन्त्रलाई पनि केही योगदान पुग्ने बस्नेतको विश्वास छ । मिलका अपरेसनल टेक्निकल मेनेजर बसन्त ढुंगानाले मिल अत्याधुनिक रहेको जानकारी दिए । मिलका संचालक स्वयंम वीरेन्द्र बस्नेतले धान उत्पादन र किसानले उत्पादन गरेको धान खरिद प्रक्रियामा देखिएको समस्याबारे बुधबार किसानसँग छलफल गरे । बस्नेतमात्रै होइन किसानले उठाएका मुद्दालाई सम्बोधन गर्नका लागि धानसँग सम्बन्धित विषयमा विज्ञता हासिल गरेका विज्ञहरुप नि किसानले उठाएका समस्याको समाधानमा खटिएका थिए ।


विचौलियाबाट हैरानी खेपिरहेका किसानले आरजु राइस मिल संचालनमा आएसँगै राहतको महसुस गरेको बेलबारी ९ मोरङका किसान रामचन्द्र खनाल बताउँछन् । किसानले समयमै मल, बिउ र सिँचाई सुविधाको व्यवस्था मिलेमात्रै राइसमिल दिगो हुने पनि उनले बताए । यस्तै रंगेली २ मोरङका किसान वीरबहादुर थापाले पनि आफूहरु आरजु राइस मिलसँग सहकार्य गरेर धान उत्पादन बढाउन तयार रहेको बताए । किसानका समस्या समाधानमा मिलले सहयोग गर्नुपर्ने उनको धारणा थियो । बेलबारी ११ का किसान राजकुमार दंगालले आरजु राइस मिलले दिएको बिउबाट उत्पादन बढेको बताए । धान खरिद र बिक्रीमा यसअघि झन्झट व्यहोर्नु पर्ने, बिक्रीको पैसा समयमा नपाउने समस्या अब हल हुनसक्ने उनको विश्वास छ ।


हाल उक्त फर्ममा दर्जनभन्दा धेरै प्रजातिका धान बाली परीक्षणका लागि लगाइएको छ । बङ्गलादेशबाट ल्याइएको विआरआरआई ७५, विआरआरआई ८५, रबी धान, बिना धान, पाकिस्तानबाट ल्याइएको सुपर बासमती, चिनाव, किसान बासमती तथा पञ्जाब बासमती, भारतबाट ल्याइएको पूषा बासमती १६९२, पूषा बासमती ७, मुच्छड बासमती, पिआर १२८, मराठी जीरा, पिआरआई १२६ र नेपाली धानमा पहाडे बासमती, हर्दिनाथ हाइब्रिड १, बहुगुणी १ आदि उन्नत जातका लगाइएको छ । स्थानीयस्तरमा यति ठूलो लगानीमा राइस मिलका कारण कृषकले धानको उचित मूल्य पाउने कृषि विज्ञ डाक्टर राजेन्द्र उप्रेती बताउँछन् । प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले धानको लागत मूल्य घटाउनका लागि मिलले किसानसँग सहकार्य गर्ने विश्वास व्यक्त गरे ।

प्रतिकृया