गठबन्धनकै दलबीच पनि प्रतिस्पर्धा हुन सक्छ : कांग्रेस प्रवक्ता महत
प्रकाशित मिति
२०७९ बैशाख ३ गते, शनिबार ०५:०५
३ वैशाख २०७९, काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुनै स्थानीय तहमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा पनि हुन सक्ने बताएका छन् । शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भइरहेका बेला पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले सो अभिब्यक्ति दिएका हुन् ।
डा महतले कुनै स्थानीय तहमा गठबन्धनका एक भन्दा बढी दललाई आफूले जित्छु भन्ने लागेमा मैत्रीपूर्ण प्रतिस्पर्धा पनि हुन सक्ने बताएका हुन् । तर त्यस्तो स्थानीय तहमा नेकपा एमालेसँग गठबन्धन भने कुनै दलले गर्न नपाउने उनको भनाइ छ ।

‘कुनै ठाउँमा सहमति भएन । मेरै शक्ति छ, मेरै जनाधार बढेको छ, विपक्षी दलले जित्दैन भन्ने आयो भने त्यस्तो ठाउँमा फ्रेन्डली प्रतिस्पर्धा पनि हुन सक्छ’ उनले भने, ‘तर हामी एक अर्कामा मिलेनौं भनेर एमालेसँग गठबन्धन गर्न जाँदैन ।’

प्रवक्ता महतले आपसमा प्रतिस्पर्धा गर्दा पनि गठबन्धनभित्रकै दलका उम्मेदवार निर्वाचित हुने स्थितिमा तालमेल नहुन पनि सक्ने बताए । ‘जो आए पनि हामी नै आउने हो, एमाले आउने होइन, भन्ने भयो भने राम्रै कुरा भयो’ उनले भने ।
उनले कुनै स्थानीय तहमा गठबन्धन गर्ने विषयमा सहमति जुटेन भने बेलैमा जानकारी गराउन पार्टीको तल्ला समितिलाई आग्रह समेत गरे ।




प्रतिकृया