विवेकशील साझाले ल्यायो काठमाडौं महानगरको प्रतिज्ञापत्र
प्रकाशित मिति
२०७९ बैशाख ३ गते, शनिबार ०५:१६
३ वैशाख २०७८, काठमाडौं : विवेकशील साझा विद्युतीय यातायात प्रवर्द्धन गर्ने घोषणासहित आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । शनिबार पार्टी कार्यालय बखुण्डोलमा घोषणापत्र सार्वजनिक गर्दै विवेकशील साझा पार्टीले निजी क्षेत्रसँगको सह-लगानीमा काठमाडौंभित्र बिजुलीले चल्ने ठूला तथा मझौला आकारका सार्वजनिक यातायात व्यवस्थित र भरपर्दो ढंगले सञ्चालन गर्ने बताएको छ ।
डिजेल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई क्रमशः विस्थापित गर्दै लगिने र बिजुलीले चल्ने यातायातमा रूपान्तरण गर्ने संस्था र कम्पनीलाई तीन वर्षका लागि कर मिनाहा गर्ने पनि बताएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सरकारी कर्मचारी र विद्यार्थीहरूलाई महानगरको संलग्नतामा संचालन गरिने सार्वजनिक यातायातको प्रयोग निस् शुल्क गरिनेछ।

महानगरपालिकाले नयाँ सवारी साधन विद्युतीय मात्र खरिद गर्ने पनि विवेकशील साझाको प्रतिवद्धता छ । ट्राफिक जाम कम गर्न र सार्वजनिक यातायात प्रणालीलाई थप प्रभावकारी बनाउन केवल कार, मेट्रो रेल, द्रुत बस जस्ता प्रणालीहरूको प्राविधिक, आर्थिक र वातावरणीय पक्षहरूको सूक्ष्म अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने पनि विवेकशील साझा पार्टीले उल्लेख गरेको छ ।

त्यस्तै नेवास् कला(संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको प्रवर्द्धन, सार्वजनिक शिक्षा सुधार र सामुदायिक विद्यालयमा १२ कक्षासम्म निशुल्क गर्ने पनि विवेकशील साझा पार्टीले बताएको छ ।
महानगर र वडा कार्यालयहरूलाई ज्येष्ठ नागरिक र अपाङ्गतामैत्री बनाउँदै सेवा प्रवाहमा प्राथमिकता दिइने र महानगरपालिकाभित्र दलीय पेशागत संगठन तथा सुशासनमा अवरोध पुर्याउने दलीय राजनीतिक गतिविधिलाई निरुत्साहित गरिने विवेकशील साझाले बताएकाे छ ।




प्रतिकृया