“उत्कृष्ट शिक्षा नेपालमै भन्ने” मुल नाराकासाथ हिसानको महाधिवेशन २५ र २६ गते
प्रकाशित मिति
२०७८ चैत्र २३ गते, बुधबार ०४:४३
२३ चैत २०७८, काठमाडौं : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले यहि चैत २५ र २६ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । बुधवार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराएको हो । महाधिवेशनमा ३५ जिल्लाका ६०० वटा शिक्षालयबाट प्रतिनिधिहरुको उपस्थिति रहने बताइएकाे छ ।
पत्रकार सम्मेलनमा संघका महासचिव लोकबहादुर भण्डारीले विदेशी शिक्षाको रुपमा वार्षिक रुपमा लाखौँ विद्यार्थीहरु बाहिर जाने र अर्बौं रुपैयाँ बाहिरिरहेको भन्दै यसमा सरकार संवेदनशील हुनुपर्ने बताए । उनले विदेशमा जाने विद्यार्थी र रकम जोगाउनका लागि निजी क्षेत्रमा नभइ सामुदायिक क्षेत्रसँग पनि हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

महासचिव भण्डारीले महाधिवेशनले नेपालभर रहेका निजी शिक्षालयहरुबीचको एकतालाई मजबुत बनाउने, नीति निर्माणमा सकारात्मक भुमिका खेल्न, निजी शिक्षालयहरुको समस्या समाधान गर्ने र शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा सहयोग गर्ने अपेक्षा लिएको पनि बताए ।

यस्तै, संघका अध्यक्ष रमेशकुमार सिलवालले शिक्षामा देशभित्र भएको विभेदलाई हटाउनु पर्नेमा जोड दिए । उनले विदेशी र नेपाली शिक्षालयको शिक्षामा ने विभेद भएको भन्दै त्यसलाई हटाउनु पर्ने बताए । उनले सरकारले वहन गर्नुपर्ने जिम्मेवारी निजी क्षेत्रले गरिरहेको र अझै धेरै गर्न तत्पर रहेको तर सरकारले त्यो वातावरण सिर्जना गर्न सक्नुपर्ने उनको भनाइ छ।
हिसानले उत्कृष्ट शिक्षा नेपालमै भन्ने मुल नाराका साथ आफ्नो आठौं महाधिवेशन गर्न लागेको हो । महाधिवेशनमा विभिन्न शैक्षिक क्षेत्रमा गर्नसक्ने विकासका कामको बारेमा पनि गोष्ठी हुने बताइएको छ ।




प्रतिकृया