• २२:१६ २०८० चैत्र १५ गते
  • 10:16 pm

मेस्सीलाई सर्वाधिक ठूलो सफलता, अर्जेन्टिनालाई कोपा अमेरिका दिलाउन सफल

प्रकाशित मिति

२०७८ असार २७ गते, आईतवार ०८:०३

leonel messi

काठमाडौं : कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान ब्रजिलको रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा भएको फाइनलमा आयोजक ब्रजिललाई हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिना १–० गोल अन्तरले विजयी भयो ।


अर्जेन्टिनालाई विजयी गराउन खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गरेका थिए । मारियाले रोड्रिगो डे पलको पासमा उत्कृष्ट गोल गरेका हुन् । अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेयता मुख्य प्रतियोगिताको उपाधि पहिलो पटक जितेको हो । अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीका लागि पनि यो खेल महत्वपूर्ण उपाधि रहेको छ ।


६ पटकका बालोन डे ओर विजेता मेस्सीले देशका लागि सन् २००८ मा चीनमा भएको ओलम्पिकमा मात्रै स्वर्ण पदक जिते बाहेक कुनै पनि महत्वपूर्ण उपाधि दिलाएका थिएनन् ।


messi2

करियरको उत्तरार्धमा आएका मेस्सीले देशलाई ठूलो उपाधि दिलाएका हुन् । उनले छैटौं पटक कोपा अमेरिका खेलेका छन् । चार पटक विश्वकप खेलिसकेका छन् ।


ब्रजिल भने घरमै पराजित भएको छ । ब्रजिलका लागि नेयमारले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । योसँगै अर्जेन्टिनाले कोपा अमेरिकामा उरुग्वेसँग बराबरी १५–१५ उपाधि जितेको छ ।


messi1

ब्रजिलले भने ९ पटकमात्र कोपा अमेरिका जितेको छ । सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना र पेरुलाई हराउँदै ब्रजिल फाइनलमा पुगेको थियो ।


तेस्रो स्थान भने कोलम्बियाले ओगटेको छ । शनिबार भएको खेलमा बोलम्बियाले पेरुलाई ३–२ गोल अन्तरले हराएको हो ।

प्रतिकृया