• ४ साउन २०८३, सोमबार
  • ३:४८ बिहान

कोरोना कहरबीच मातातिर्थ औंसी

प्रकाशित मिति

२०७८ बैशाख २८ गते, मंगलवार ०६:४६

लक्ष्मण प्रसाद खतिवडा :  आज बैशाख कृष्णपक्षको औसी वा आमाको मुख हेर्ने दिन । आजको दिनलाई मातातिर्थ औंसी, मातृऔंसी एवम् मातृदिवस भनेर पनि चिनिने गरिन्छ । आज आफूलाई जन्मदिने आमाप्रति श्रद्धा भक्ति प्रकट गर्दै सम्मान र आदर व्यक्त गरी उनीहरुबाट शुभाशिर्वाद थाप्ने दिन । हुनपनि देवीको प्रतिरुप अनि ममताकी खानी जीवित आमालाई आजको दिन मिठा(मिठा परिकार खान दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड, श्राद्ध गरी सम्झना गर्ने गरिन्छ ।

 

Kamana Sewa

हाम्रा शास्त्रहरुले समेत आमालाई बढी महत्व दिई मातृदेवो भवस् भनेर सर्वप्रथम भनेको पाइन्छ । अनि हामीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । पितृऋण तिर्न जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने र मृत्युपश्चात् श्राद्ध गर्नुपर्छ । आजको दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त हुने कुरा हाम्रा धर्म शास्त्रहरुमा उल्लेख भएको समेत छ ।

Classic Tech Desktop

 

आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । विवाह गरेर गएका छोरीहरु पनि मिठा परिकारसहित माइतमा पुगी आशिर्वाद लिने गर्दछन् । विभिन्न कारणले आमालाई प्रत्यक्ष भेट्न नपाउनेहरु समेत विभिन्न संचारका साधनहरुको प्रयोग गरि आशिर्वाद लिने गर्दछन् । तर विगतको भन्दा आजभोलि मातातिर्थ औंसी भड्किलो बन्दै गएको पाइन्छ । बर्षभरी वास्ता नगर्ने तर आजको दिन तडकभडक देखाउन महँङ्गा उपहार र भद्दा जमघट गर्ने गरेको पाइन्छ । जसले गर्दा यसको मौलिकता नै ओझेलमा पर्ने पो हो कि विचारणीय विषय बनेको छ । आज आमाको मुख त हेरिन्छ नै त्यो भन्दा बढी फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु भरिनाले यो विकृतमय बन्न लागेको भान हुन थालेको छ ।

 

मातातिर्थ ‌औंसी जन्मदिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आमा जसले नौ महिनासम्म हामीलाई गर्भमा राखी संसार देखाइन् । आफ्ना सारा दुखकष्ट भुली हामीलाई काखमा राखी पाल्दै बामे सर्न सिकाइन् । हाम्रा सारा इच्छाहरु पूरा गर्दै हामीलाई हुर्काई बढाई ठुलो बनाइन् । वास्तवमा आमाकै स्नेह र लालन पालनमा हामी हुर्किएका हौं । हुनपनि संसारको सबैभन्दा पवित्र नाता नै आमा हो । त्यसैले आमाको सम्झना वर्षमा एकपटक गरेर मात्र हुने होइन । यसको लागि हरेक सन्ततिले आफ्नो दायित्व पूरा गरी आमाप्रतिको सच्चा सम्मान प्रकट गर्न सक्नुपर्दछ ।

 

आज हाम्रो देश मात्र होइन विश्व नै कोरोनाको महामारीले ग्रस्त छ । यो भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन गरी अत्यावश्यक काममा बाहेर घर वाहिर निस्कन रोक लगाएको छ । त्यसैले आमाबाट टाढा रहेकाहरु आमालाई भेट्न जाने अवस्था छैन । आमा जीवित नहुनेहरु पनि मातातीर्थ मन्दिर, जलासय लगायतका स्थानमा गई तर्पण, पिण्ड, श्राद्ध गर्ने अवस्था पनि छैन। तरपनि लकडाउनका कारण छोरा छोरी आमा भएका स्थानमा पुग्न नसके पनि आमालाई वचनबाट खुशी राख्न सकिन्छ । लकडाउनले आमाप्रतिको श्रद्धा पक्कै रोकिने छैन । अतस् आ-आफ्नो स्वास्थ्य र कोरोना जोखिमलाई ध्यानमा राखी घरबाट ननिस्किइकन यो पर्व सम्पन्न गर्नु नै बुद्धिमत्ता ठहर्दछ ।

प्रतिकृया