ज्यान मार्ने धम्कि दिने उपाध्यक्ष र वडा अध्यक्षलाई एक वर्ष कैद
प्रकाशित मिति
२०७८ बैशाख १२ गते, आईतवार ०८:३३
रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र सोही पालिकाको वडा नम्बर-७ तिल्पुङका वडा अध्यक्ष सुवास बोहोरा जेल चलान हुने भएका छन् ।

उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोरालाई काठमाडौं जिल्ला अदालतले कैद फैसला सुनाएको हो । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले गाउँपालिकाकी उपाध्यक्ष दाहाललाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमाना तोकेको छ । त्यसैगरी वडा अध्यक्ष बोहोरालाई पनि १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमाना तोकेको छ । अदालतले दोषी ठहर गरी जेल सजाय र जरिमाना समेत तोकेपछि दुवै जना जेल जाने भएका हुन् ।

केही वर्ष पहिले लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कासँग सोही गाउँपालिका-७ तिल्पुङका (मिलन) भनिने लोप्साङ लामा र अमृत तामाङले २ करोड रुपैयाँ चन्दा मागेका थिए ।
आफूहरूले मागेको चन्दा रकम नदिए पालिकाका अध्यक्ष खड्का र उनका परिवारका सदस्यलाई मार्ने धम्की दिन लगाउने मुख्य योजनाकारका रूपमा लिखु गाउँपालिकाकी उपाध्यक्ष दाहाल र तिल्पुङका वडा अध्यक्ष बोहोराको प्रत्यक्ष संलग्नता रहेको प्रमाणका आधारमा जिल्ला अदालत काठमाडौंले उनीहरूलाई कैद र जरिमाना दुवै सजाय हुनेगरी फैसला सुनाएको हो ।
सो घटनामा प्रत्यक्ष संलग्न भएका लिखुतामाकोसी गाउँपालिका–७ का ९मिलन० भनिने लोप्साङ लामालाई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिमाना र अर्का अमृत तामाङलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिमाना हुने फैसला जिल्ला अदालतले गरेको छ ।
(राजधानी दैनिक)



प्रतिकृया