बाँदरले भिडियोगेम खेलेको मस्कको दाबी
प्रकाशित मिति
२०७७ चैत्र ३० गते, सोमबार १०:०३
टेस्लाका मालिक एलन मस्कको ‘ब्रेन इन्टरफेस फर्म’ , न्यूरालिंकले सार्वजनिक गरेको नयाँ भिडियोमा मस्तिष्कमा चिप हालेको एउटा बाँदरले, हातले नभइ दिमागबाट भिडियो गेम खेलेको दाबी गरिएको छ ।
बाँदरको दिमागबाट सिग्नलहरुलाई वायरलेस अर्थात बिनाकुनै तार, त्यसको मस्तिष्कमा प्रत्यारोपण गरिएको आधुनिक डिभाइस मार्फत पठाइएको बताइएको छ ।
उक्त प्रविधिको लक्ष्य विशेषगरी स्नायु प्रणालीमा समस्या भएकाहरुको मद्दत गर्नु रहेको छ । यसको सहायताले न्युरोलोजीका बिरामीले कम्प्युटर या मोबाइल फोनलाई हातको प्रयोग नगरि दिमागबाटै चलाउन सक्नेछन् ।
विज्ञहरुका अनुसार यस खोजमा कुनै वायर वा तारको प्रयोग नहुनु वास्तवमै उल्लेखनीय उपलब्धी हो तर पनि यसबारे थप प्रमाण आवश्यक भएको बताइएको छ । शरीर भित्र तार राख्नुले संक्रमणको जोखिम बढाउने हुनाले पनि वायरलेस धेरै ठूलो उपलब्धी मानिएको हो ।
पेजर नामको सो बाँदरलाई पहिले एउटा ‘जोएस्टिक’ डिभाइसले भिडियो गेम खेल्न सिकाइएको थियो र जिते वापद् खानेकुराले पुरस्कृत गरिएको थियो । यहि प्रक्रियाका क्रममा न्युरालिंकको डिभाइसले कुन न्युरोनले कस्तो किसिमको हलचललाई नियन्त्रण गरिरहेको छ भन्ने जानकारी रेकर्ड गरेको हो ।
यसपछि जोएस्टिक डिभाइसलाई ‘डिस-कनेक्ट’ या निस्क्रिय गराइ, बाँदरलाई दिमागले नै सबै नियन्त्रण गरि सो गेम खेल्न छाडिएको हो ।अनुसन्धानकर्ताहरुले यसको ब्लगपोस्टमा लेखेका छन्, “हाम्रो मिसन भनेको सुरक्षित र प्रभावकारी क्लिनिकल बीएमआइ (ब्रेन मेसिन इन्टरफेस) प्रणाली निर्माण गर्नु हो जुन पूर्ण रुपमा वायरलेस हुनेछ र मस्तिष्कमा प्रत्यारोपण गर्न सकिनेछ । हाम्रो पहिले लक्ष्य भनेको प्यारालाइसिस भएका मानिसहरुलाई डिजिटल स्वतन्त्रता प्रदान गर्नु हो जसमा उनीहरुले हातको प्रयोग नगरि सजिलै टेक्स्ट गर्न, इन्टरनेट चलाउन, तस्बिर खिच्नदेखि चित्र बनाउन, भिडियोगेम खेल्न लगायत सबै किसिमले अन्तरक्रिया गर्न सक्नेछन् ।”
यसपछि यो प्रणालीलाई शारीरिक हलचल गर्न सक्ने क्षमता पुनःस्थापना गर्न मद्दत गर्नका लागि पनि प्रयोग गर्न सकिने बताइएको छ । यसमा दिमागका सिग्नलहरु यो प्रणाली मार्फत अध्ययन गरि तिनलाई शरीरका मांसपेशी र नसालाई सक्रिय पार्न सकिनेछ । तर यो प्रक्रिया अत्यन्तै सटिक हुनुपर्नेहुन्छ र जटिल पनि रहेको छ ।
यस अनुसन्धानबारे एलन मस्कको प्रतिक्रिया भने अत्यन्तै उत्साहित र साहसी भएको बताइएको छ । उनले ट्वीट गर्दै लेखेका हुन्, ‘न्यूरालिंकको पहिलो उत्पादनले प्यारालाइसिस भएका व्यक्तिलाई तिनको दिमागबाट स्मार्टफोन चलाउन मिल्ने बनाइदिनेछ जुन औँलाले चलाए भन्दा छिटो हुनेछ ।” अब यसको अर्को कदम भनेको हिँड्न नसक्नेहरुलाई हिँडाउने रहेको पनि उनले उदाहरण दिँदै दाबी गरेका हुन् ।
मस्कले लामो समय अगाडिदेखि नै ‘सुपरह्युमन कग्निसन’ अर्थात अत्याधुनिक मानसिक अवस्थाको युगतर्फ लाग्ने भिजन राख्दै आएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स, एआइ कुनै समय मानव प्रजातिकै विनाश गर्न सक्ने क्षमता विकास गर्ने विश्वासमा यस विरुद्धको तयारी अन्र्तगत उनले सो परियोजना अघि बढाउने बताउँदै आएका छन् ।
(बीबीसी )







प्रतिकृया