• ५ साउन २०८३, मंगलबार
  • ३:५३ बेलुका

काठमाडौँ महानगरपालिकाबाट पाँच ओटा नगरपालिकालाई सम्झौतासहित चेक हस्तान्तरण

प्रकाशित मिति

२०७७ चैत्र ५ गते, बिहीबार ०५:१९

काठमाडौँ :काठमाडौँ महानगरपालिकाले नगर साझेदारी कार्यक्रम अन्तर्गत उपत्यकाका पाँच ओटा नगरपालिकालाई नगरपालिका क्षेत्रभित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका नगरपालिकासँग सम्झौतासहित चेक हस्तान्तरण गरेको छ ।

महानगरपालिकाले पाँच ओटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेक समेत हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिकाले २०७७र०७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नगर–नगर साझेदारी कार्यक्रम शीर्षकमा कागेश्वरी मनोहरा, दक्षिणकाली, तारकेश्वर, कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिकासँग धार्मिक तथा पर्यटकीय पार्क तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गर्ने सम्झौता गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले जानकारी दिए ।

Kamana Sewa

दक्षिणकाली नगरपालिका क्षेत्र भित्र रहेको वडा–५ गोरखनाथ डाँडामा अवस्थित बहुद्देश्यीय उद्यान निर्माणका लागि थप एक करोड रकम हस्तान्तरण गरिएको छ । यस अघि पनि सोही उद्यान निर्माणका लागि महानगरपालिकाले रु एक करोड सहयोग गरेको थियो । तारकेश्वर नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेको वडा–५ को भ्युटावर र वडा–२ को तारकेश्वर राष्ट्रिय झण्डा पार्क निर्माणका लागि जम्मा एक करोड सहयोग प्रदान गरेको छ । यस अघि तारकेश्वर धाम निर्माणका लागि रु एक करोड सहयोग गरेको थियो ।

Classic Tech Desktop

मध्यपुर ठिमी नगरपालिकाको वडा नम्बर–४ मा निर्माणधिन शंखधर पार्क निर्माणका लागि पनि काठमाडौँ महानगरपालिकाले रु थप एक करोड सहयोग गरेको छ । यस अघि पनि महानगरपालिकाले सो उद्यान निर्माणका लागि रु एक करोड सहयोग गरेको थियो । करीब १० रोपनी क्षेत्रफलमा मण्डला, एम्पिथिएटर चिः बहालगायत निर्माण हुँदैछ । भक्तपुरकै चाँगुनारायण नगरपालिकालाई पनि काठमाडौँ महानगरपालिकाले ताथलीमा उद्यान निर्माणका लागि रु एक करोड नै दिने भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको भौगोलिक कार्यक्षेत्र भित्र रहेको वडा–१ मा अवस्थित प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटी कागेश्वरी धाम निर्माणका लागि पनि रु एक करोड नै सहयोग गरेको छ । यसअघि पनि सो नगरपालिकालाई रु एक करोड सहयोग गरेको थियो ।

कीर्तिपुर नगरपालिकामा युद्ध स्मारक पार्क निर्माणका लागि पनि आजै सम्झौतापत्रमा हस्ताक्षर गरी काठमाडौँ महानगरपालिकाले रु एक करोड प्रदान गरेको छ । उक्त नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेको वडा १,२ र १० लाई समेटी त्यहाँ करिब ५५ रोपनी क्षेत्रफलमा युद्ध स्मारक पार्क निर्माण भैरहेको छ । दुईओटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ ।

प्रतिकृया