रुपन्देही र सप्तरीमा फुड बैंक
प्रकाशित मिति
२०७७ भाद्र १७ गते, बुधबार ०६:३८
रुपन्देही, कोभिड–१९ को महामारीबाट प्रभावितका लागि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा ‘फुड बैंक’ सञ्चालन गरिएको छ । रुपन्देहीमा क्रियाशील विभिन्न क्लबको सक्रियतामा बुटवलको ट्राफिकचोकमा आजदेखि खाद्य बैंक सञ्चालन गरिएको हो ।
लकडाउन अवधिभर सञ्चालन गरिने फुड बैंकबाट एक पटकमा एक जनालाई अढाइ केजी चामल, आधा केजी दाल, एक केजी आलु, आधा लिटर तोरीको तेल, एक केजी प्याज, एकएक पाउ लसुन, बेसार र अदुवा, एक किलो नुन, पाँच मास्क र साबुन प्रदान गरिने छ ।
कोही पनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्ले सञ्चालन गरिएको फुड बैंकमा हुनेहरुलाई सहयोग गर्न र नहुनेहरुलाई लैजानका लागि आग्रह गरिएको छ । सामाजिक सेवामा काम गर्ने संस्था रोटरी क्लब अफ बुटवल साउथ, रोट्रयाक्ट क्लब अफ बुटवल साउथ, रोट्रयाक्ट क्लब अफ तिनाउ सिटी र ह्याप्पी ह्वील्सको आयोजना तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, इ–क्यान रुपन्देही र बुटवल महिला जेसिजका सहयोगमा बैंक सञ्चालन गरिएको रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेलले जानकारी दिनुभयो ।
सप्तरी– लगातारको लकडाउन र निषेधाज्ञाले भोकै परेका व्यक्तिलाई खाद्य सहयोग गर्न सप्तरीको कञ्चनरूपमा पनि आजदेखि ‘फुड बैंक’ सञ्चालन भएको छ । विपन्न, असहाय र मजदूरलाई लक्ष्य गरी ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने नाराका साथ कञ्चन सञ्चार समूहले आजदेखि खाद्य बैंक सञ्चालनमा ल्याएको कार्यक्रम संयोजक एवम् समूहका उपाध्यक्ष रोमा लम्सालले बताउनुभयो ।

एघार दाताको सहयोगबाट शुरुआत गरिएको ‘फुड बैंक’बाट आर्थिक रूपले अतिविपन्न परिवारका ४५ जनाले राहत लगेका छन् । कञ्चनरूप– १२ रूपनगरस्थित प्रगति टोलमा स्थापित ‘फुड बैंक’ बाट लकडाउनले समस्यामा परेका नगरपालिकाभित्रका आर्थिक रूपले अतिविपन्न, असहाय र अशक्त परिवारलाई प्रतिपरिवार चामल, दाल, नुन, आलु, स्वायबिन, साबुन, तेल र मास्क वितरण गरिएको समूहले जनाएको छ ।
‘फुड बैंक’मा समूहका उपाध्यक्ष लम्साल, समूहका सल्लाहकार संयोजक उत्तमप्रसाद आचार्य, कञ्चनरूप–१२ का वडाध्यक्ष देवीबहादुर खत्री, सोही वडाका मनप्रसाद लम्साल, सजर अली, आशा खड्का रञ्जना पोखरेल, काठमाडौँकी पवित्रम दाहाल, कैलालीका विपीन ‘बुद्धि’ र उदयपुरका माधव ‘गोज्याङ्ग्रे’ बाट खाद्य र नगद सहयोग प्राप्त भएको समूहले जनाएको छ ।

गरीब एवं दुःखीको पीडामा मलहम लगाउन ‘फुड बैंक’ शुरु गरिएको समूहका अध्यक्ष डम्बर राईले बताउनुभयो । समूहका कोषाध्यक्ष अनिल पोखरेलका अनुसार कोही पनि भोकै बस्नु नपरोस् भनेर अभियान शुरु गरिएको हो ।
रासस




प्रतिकृया