• ७ असोज २०८३, बुधबार
  • ३ः०७ दिउँसो

राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग

प्रकाशित मिति

२०८३ जेष्ठ २१ गते, बिहीबार ०२:४६

२१ जेठ २०८३ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरीसहित १८३ जना नेता–कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। बिहीबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले राप्रपाको मूल नेतृत्वमा देखिएको वैचारिक विचलन, स्वेच्छाचारिता र आत्मकेन्द्रित कार्यशैलीका कारण पार्टी छोड्न बाध्य भएको बताएका हुन्।

National Life

वक्तव्यमा पार्टी नेतृत्वले केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई वर्तमान सरकारको ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने न्यूनतम साझा कार्यक्रममा सहभागिता जनाएको भन्दै आपत्ति जनाइएको छ। राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेको पार्टीले गणतन्त्र बलियो बनाउने सरकारको साझेदार बन्नु गम्भीर विरोधाभास भएको उनीहरूको आरोप छ।

पार्टीभित्र निरंकुश शैली मौलाएको, विधानको पालना नभएको तथा वैधानिक निर्णयहरू समेत कार्यान्वयन नगरिएको आरोप लगाउँदै नेताहरूले पार्टीमा बस्ने वातावरण समाप्त भएको बताएका छन्। २०८२ सालको निर्वाचनमा अधिकांश उम्मेदवारको जमानत जफत हुनु र जनविश्वास घट्नुमा नेतृत्वको कमजोरी जिम्मेवार रहेको उनीहरूको ठहर छ।

Classic Tech Mobile
Classic Tech Desktop

संस्थापक नेताहरूको अपमान र नयाँ पुस्ताको अवमूल्यन भएको आरोपसमेत लगाउँदै उनीहरूले राजसंस्था पुनर्स्थापनाको आन्दोलनलाई नेतृत्वले नै कमजोर बनाएको दाबी गरेका छन्।

उनीहरूले बिहीबारदेखि पार्टीका सबै जिम्मेवारी त्यागेको घोषणा गर्दै धवलशमशेर राणाको नेतृत्वमा छिट्टै नयाँ राजनीतिक दल गठनको तयारी भइरहेको जानकारी दिएका छन्।

प्रतिकृया