• २ असोज २०८३, शुक्रबार
  • ४ः१६ बेलुका

राष्ट्रिय पुस्तक नीति चाँडै कार्यान्वयनमा ल्याइने

प्रकाशित मिति

२०७७ भाद्र १५ गते, सोमबार ०९:१८

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय पुस्तक नीति, पुस्तकालय गुरूयोजना र पुस्तकालय स्वचालीकरण योजना चाँडै कार्यान्वयन गरिने बताउनुभएको छ । सामुदायिक र सार्वजनिक पुस्तकालयलाई हरेक स्थानीय तहमा सुविधा सम्पन्न सामुदायिक तथा सार्वजनिक पुस्तकालयको स्थापना गर्दै लैजाने नीति सरकारको छ । सरोकार भएका पक्षले उक्त नीति र गुरुयोजनाको कार्यान्वयनमा जोड दिँदै आएका छन् ।

National Life

तेह्रौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आज मूल समारोह समितिले आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री पोखरेलले नेपाल राष्ट्रिय पुस्तकालयको स्थगन भएको भवन निर्माणसम्बन्धी काम पनि छिट्टै हुने आशा पनि व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक तथा सामुदायिक पुस्तकालयको विकास र विस्तारमा तीन तहका सरकारको भूमिका रहने भए पनि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

पूर्वविज्ञानमन्त्री गणेश साहले पुस्तकालयका लागि राष्ट्रिय अभियान सञ्चालन गर्न प्रदेशस्तरका सरकारलाई प्रदेश पुस्तकालय र स्थानीय तहलाई आग्रह गर्नुभयो । डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका अध्यक्ष इन्दिरा दलीले सार्वजनिक पुस्तकालयको विकास र विस्तारमा सरकारको भूमिका बढ्नुपर्ने माग गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सो अवसरमा पुस्तकालय अभियन्ता तथा नेपाल पुस्तकालय सङ्घका संस्थापक अध्यक्ष मुरारिविनोद पोखरेल, पुस्तकालयकर्मी चन्द्रकिरण श्रेष्ठ र झापा जिल्लाको धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयलाई वर्षको उत्कृष्ट पुस्तकालयका रूपमा कदर गरियो भने नुवाकोटको बेलकोटगढी नगरपालिका¬–१० की कक्षा ३ मा अध्ययनरत छात्रा सुगिष्मा कँडेललाई प्रशंसापत्रबाट सम्मानित गरियो । सो अवसरमा तेह्रौँ पुस्तकालय दिवसका अवसरमा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो ।

शिक्षा मन्त्रालयका सचिव डा सञ्जय शर्माले नेपालमा पठन संस्कृतिको विकास र विस्तारमा आएको सकारात्मक परिवर्तनले पुस्तकालयको आवश्यकता र महत्व अझ बढाएको उल्लेख गर्नुभयो ।

यस वर्षको पुस्तकालय दिवसको आदर्श वाक्य ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ रहेको थियो ।

नेपालमा २०६५ सालदेखि हरेक भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै आइएको छ । विसं १८६९, भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरी यो दिवस मनाउन थालिएको हो । तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सदनपत्र जारी पुस्तक चिताइ तहबिलको जिम्मेवारी दिनुएको थियो ।
रासस

प्रतिकृया