• २१ भदौ २०८३, आइतबार
  • ९ः०३ राती

साउनमा पाशुपत क्षेत्र सुनसान

प्रकाशित मिति

२०७७ श्रावण ४ गते, आईतवार ०६:२७

 

National Life

काठमाडौं । दर्शनार्थी भक्तजनहरूको घुइँचो हुने साउन महिनामा हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिथानको मन्दिर रहेको पवित्र पाशुपत क्षेत्र यस वर्ष सुनसान छ ।

लकडाउनपछि पशुपतिनाथ मन्दिरको चारवटै ढोका बन्द छन् । थोरै संख्यामा पशुपतिनाथ पुग्ने भक्तजनहरू बाहिरी प्रवेशद्वारबाटै फर्किने गरेका छन् । लकडाउन भएपछि नित्य पूजामात्र हुने गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Classic Tech Desktop

यसपालि चन्द्रमास अर्थात तिथिअनुसार साउनमा पाँच वटा सोमबार परेका छन् । आउने सोमबार तेस्रो हो । सौर्यमास अनुसार साउनमा चारवटा सोमबार परेका छन्, आउँदो सोमबार पहिलो हो ।

सनातन परम्परामा सबै धार्मिक र सांस्कृतिक गतिविधिहरू चन्द्रमासअनुसार हुन्छन् । चन्द्रमासअनुसार यही साउन १९ गते श्रावणको अन्तिम दिन हो ।

यसपालि श्रावणको पहिलो दिन (श्रावण कृष्णपक्ष प्रतिपदा) सोमबार परेको थियो । अन्तिम दिन श्रावण शुक्लपक्ष पूर्णिमा पनि सोमबार नै परेको छ ।

साउनमा सोमबारको यस्तो संयोगलाई भक्तजनहरू विशेष महत्वको मान्छन् ।

यसवर्ष साउनमा पशुपतिनाथ दर्शन गर्न नपाएकोमा नीरु र उनीजस्ता हजारौँ भक्तजन र दर्शनार्थीहरू खिन्न देखिएका छन् ।

‘कोरोना भाइरसबाट बच्न सरकारले लकडाउन गरेको छ,’ नीरुले खबरहबसँग भनिन्, ‘अहिले सबै क्षेत्रहरू बिस्तारै खुल्दै गएका छन्, सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ पनि खोलिदिए हुने थियो ।’

त्यसो त गोकर्णस्थित गोकर्णेश्वर मन्दिरमा पनि साउन महिनाभरि दर्शन र पूजा अर्चना गर्नेहरूको भिड हुन्छ । साउन महिनाप्रति हिन्दु महिलाहरूको विशेष आस्था रहेको छ । हिन्दु महिलाहरू साउनको सोमबार व्रत बसेर शिव मन्दिरमा पूजाअर्चना र दर्शन गर्छन् । हरियो चुरा र विवाहिताहरूले हरियो पोते लगाउँछन् । हातमा मेहेन्दी लगाउँछन् ।

साउनमा काठमाडौं उपत्यका र आससपासबाट ठूलो संख्यामा भक्तजनहरू पशुपतिनाथ दर्शनका लागि आउने गर्छन् । भारतीय हिन्दूहरू पनि आउने गर्छन् । यस वर्ष भने सुनसान छ ।

प्रतिकृया