सूर्यविनायकमा सय शय्याको क्वारेन्टाइन निर्माण
प्रकाशित मिति
२०७७ जेष्ठ २२ गते, बिहीबार ११:४९
भक्तपुर । विदेशबाट आउने आफ्ना नागरिकलाई राख्न भक्तपुरको सूर्यविनायक नगरपालिकाले १ सय शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । सूर्यविनायक–१० बाँसघारीस्थित स्थानीय रोमन शिलाकारले प्लाइउड गोदाम सञ्चालनका लागि बनाएको जस्ताको टहरालाई क्वारेन्टाइन निर्माण गरिएको हो । नगरपालिकाले विदेशबाट फर्किएकालाई दुई साता उक्त क्वारेन्टाइनमा राख्ने जनाएको छ ।

क्वारेन्टाइनमा दैनिक बिहान–बेलुका खाना, दिउँसो खाजाको व्यवस्था गरिने छ । क्वारेन्टाइनमा सूर्यविनायक नगरको स्वास्थ्य शाखाका कर्मचारीको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुर, प्रहरी, नेपाली सेनाको समन्वयमा हेल्थ डेक्सको व्यवस्था गर्ने योजनामा उल्लेख छ । क्वारेन्टाइन सुरक्षाका लागि महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी कर्मचारी खटिने र सफाइ कर्मचारीसमेत रहने नगरपालिकाले जनाएको छ ।

क्वारेन्टाइन निर्माणमा महानगरीय प्रहरी वृत्त जगाती र वीर दल गण सूर्यविनायकका कर्मचारी खटिएका छन् । क्वारेन्टाइन व्यवस्थापनका लागि नगरपालिकाले १० लाख रुपैयाँ छुट्याएको सूर्यविनायक–८ वडाका वडाध्यक्ष एवं सामाजिक विकास समिति संयोजक किरण थापाले जानकारी दिएका छन् ।
थापालेका अनुसार नगरपालिकाले तीन खण्डमा विभाजित गरी क्वारेन्टाइनको व्यवस्था गरेको छ । ‘यदि सुविधायुक्त स्थानमा क्वारेन्टाइनमा बस्न चाहनेहरुका लागि होटलहरुमा स–शुल्क बस्ने व्यवस्था राखेको छ । विदेशबाट फर्किएर ‘होम क्वारेन्टाइन’ मा बस्न चाहनेका लागि नगरपालिकाको निगरानीमा घरमै बस्न मिल्ने थापाले बताए ।
जिल्लाका मध्यपुर थिमि, भक्तपुर र चाँगुनारायण नगरपालिकाले भने विदेशबाट फर्किने आफ्ना नागरिकको लागि क्वारेन्टाइन निर्माण गरेको छैन । ‘नगरपालिकाले आफैं क्वारेन्टाइनको व्यवस्था गर्न सक्दैन,’ भक्तपुर नगरप्रमुख सुनिल प्रजापतीले भने,‘ विदेशबाट फर्किने नागरिकले आ–आफ्नै खर्चमा होटलमा क्वारेन्टाइन बस्नुपर्छ, होटल एसोसिएसनसँग छलफल भइरहेको छ ।’
मध्यपुर थिमि नगरपालिकाले विदेशबाट फर्किन चाहने नागरिकको तीनपुस्ते विवरण संकलन थालेको जनाएको छ । ‘वडास्तरबाट विवरण संकलन सुरु भएको छ,’ नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘नगरक्षेत्रको स्थायी बासिन्दालाई नगरपालिकाको निगरानीमा होम क्वारेन्टाइन राख्ने योजना छ ।’ नगरभित्र भाडामा बस्ने नागरिकलाई भने कुनै सुविधा नदिने उनले बताए । अहिले सूर्यविनायक नगरपालिकाले भारतबाट आएका ७ जनालाई क्वारेन्टाइनमा राखेको छ ।




प्रतिकृया