भोलि देखि काठमाडौं उपत्यकामा बाहेक एक जिल्लाबाट अर्को जिल्ला सवारी चलाउन प्रतिबन्ध
प्रकाशित मिति
२०७६ चैत्र ९ गते, आईतवार ०२:२०
काठमाडौं। सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक लगाएको छ । काठमाडौं उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ ।

सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जानकारी गराएको छ । विभागका महानिर्देशक गोगन हमालले सोमबारदेखि काठमाडौं, ललितपुर र भक्तपुरभित्र गाडी ओहोर दोहार गर्न पाइने भए पनि काठमाण्डौ बाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने हमालले बताएका छन् । यो नियम उपत्यकाका तीन शहर बाहेक सबैतिर लागु हुने उनको भनाइ छ । उनले भने, ‘अब पाँचथरबाट ताप्लेजुङ अनि हुम्लाबाट जुम्लासम्म पनि जान रोकिनेछ ।
यसको अर्थ सीमा जोडिएका जिल्लामा पनि केही समयका लागि गाडी चलाउन पाइने छैन ।’ महानिर्देशक हमालका अनुसार सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागु हुनेछ । तर यो बेलामा पनि एम्बुलेन्स, पानी, औषधि, दूध लगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने उनले छ । यसबारेमा आज ४ बजे बैठक बसेर थप स्पष्ट पारिने समेत जानकारी दिएका छन्।




प्रतिकृया