• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

मध्यपुर थिमि नगरपालिकाका प्रमुख वडा नं.२ प्रति पुर्वाग्रही हुनुभएको छः अध्यक्ष मगर

प्रकाशित मिति

२०७६ फाल्गुन १८ गते, आईतवार ११:३८

वडाबासीले चुने यता विगत ३ वर्ष देखि मध्यपुर थिमि, वडा २ को अध्यक्षको पद सम्हाल्दै आउनु भएका राम थापामगर धेरै आरोह अबरोह पार गरेर सिक्दै र केही अरुलाई सिकाउदै आएको बताउनुहुन्छ । अहिलेसम्म काम गर्ने दौरानमा चुनौतिहरुलाई नै स्विकार गर्दै आएको भन्दै थापामगरले अहिले पनि धेरै चुनौति रहेको बताउनुभयो ।

हिजोको दिनसम्म नगर प्रमुख मदनसुन्दर श्रेष्ठको राम्रो सहयोग वडालाई प्राप्त भएको हुदाँ केही सजिलो थियो भने आजको स्थितिमा नगर प्रमुखको वडाको कार्यहरुमा ध्यानाकर्षण नभएको र पूर्वाग्रही भएको देखिंदा काममा चुनौती थपिएको उहाँको भनाई छ । त्यस बाबजुद पनि वडाको विकास निर्माणका काम र यहाँका जनतालाई सुखी बनाउनका निम्ति लागि परिरहेको बताउनुहुन्छ, अध्यक्ष राम थापामगर । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी:

Kamana Sewa

यो वर्षको वडाको कार्यक्रम के के रहेको छ ?
हाम्रो वडा स्तरीय योजनामा मध्यपुर थिमि नगरपालिकाले विभिन्न सम्झौता पछिको सहमतिमा नगर सभा संचालन गरेको छ । हामीले असोज महिनामा आएर नगरसभा सम्पन्न गर्यौ ।प्रत्येक वडामा रु २ करोड ५१ लाखको बजेट बिनियोजन गरिएको छ । त्यसमध्यमा हाम्रो वडाले पनि २ करोड ५१ लाखलाई सिलीङ आधार बनाएर एउटा योजना १ करोडको छ भने बाँकी रकमको अरु साना योजनाहरु रहेको छन् ।हामीले ८० प्रतिशतको काम गरि सकेको छौँ । केही बाँकी रहेका योजनाहरु प्रक्रियामा नै रहेका छन् ।

Classic Tech Desktop

प्रत्येक वडामा १ करोडको विनियोजना हुनुपर्ने र त्यो योजनामध्य हाम्रो वडाले मगर गाउँ पश्चिम हुँदै मगर गाउँको चोकसम्म जाने बाटो बनाउने योजना थियो तर त्यसमा पछि वडा कार्यलय संचालनमा रहेको क्षेत्रको स्तरोन्तीको लागि बाटो फराकिलो गर्ने योजनाले रु १ करोडको बजेट विनियोजित गरेका थियौ ।

काम गर्दै जाँदा के–कस्ता समस्या भोग्नु परेको छ ?
विभिन्न किसिमका समस्याहरुको सामना गर्नु परेको छ । बाटोमा पर्ने सार्वजनिक जग्गाको संरक्षण गरेर काम गर्ने चुनौति रहेको थियो । यो योजनालाई ठेक्काको मार्फत लगाउँदा ठेक्का व्यवसायीले त्यो काम गर्न नसक्ने स्थिति देखेको कारणले वडा समितिबाट बैठक बसेर उपभोक्ता समितिबाट गर्नुपर्छ भनेर निर्णय गरेका थियौ । समिति मार्फत गराउदाँ स्थानीय सरोकारवाला व्यक्तिहरु सम्मिलित भएको कारणले उपभोक्ताले चासो दिएर आफ्नो काम समयमा सक्ने गर्छन् र त्यहाँ आउने चुनौतिको सामना, वाधा अड्चनलाई पनि सहज वातावरणमा परिणत गरेर काम सम्पन्न गर्छन् भनेर उपभोक्ता समिति मार्फत काम गराउन खोज्दा नगरपालिकाबाट यो कार्यको लागि सम्झौता हुन सकेको अवस्था थिएन ।

नगरपालिकाले नीतिनियम अनुसार कार्यक्रम तय गर्दा तथा पास गर्दा कुनै पनि योजना रु २० लाख भन्दा माथिको हुँदा त्यसलाई टेण्डर मार्फत गर्नुपर्ने नियम रहेको थियो । नियमलाई पुर्णरुपमा पालना गर्न पनि कर्तव्य हुन आउथ्यो ।तर नगरपालिका भित्र करोडौंका योजनाहरु पनि उपभोक्ता मार्फत भएकाले हामीले यो काम टेण्डर मार्फत गर्न नसकेर उपभोक्ता समिति मार्फत गरौ भन्दा नगरपालिकाबाट धेरै अवरोध आएका थिए । हामीले बजेटलाई ३ वटा उपभोक्ता समितिमा विभाजन गरेर काम अगाडी बढायौँ । यसको अर्थ हामीले नगरपालिकाको सहयोग, सर्मथन पाएका छैनौ भनेर स्पष्ट हुन्छ ।

किन टेण्डर मार्फत काम गरिएन ?
टेन्डर मार्फत काम गराउँदा ठेकेदार, सरोकारवाला व्यक्ति समयमा काम गर्न नआउने, विभिन्न अवरोधमा ठेकेदारहरुले भुमिका खेल्न नसक्ने कारणले उपभोक्ता समिति मार्फत काम गराएको हो । उपभोक्ता समिति आफैले २० प्रतिशतको आर्थिक सहभागिता जनाएर आफ्नै ठाउँमा काम गर्दै गर्दा सफल हुन्छ । हामीले समयमा काम सम्पन्न गराउने हिसाबले उपभोक्ता समितिबाट काम गराउन खोजेको हो । केही महिनासम्म अबरोध भएता पनि त्यस पश्चात् सहमतिमा काम अगाडी बढायौ । अहिले यो योजना लगभग सम्पन्न हुने अबस्थामा छ भने वडा स्तरिय योजनाहरु चैत मसान्तसम्म सम्पन्न गर्नेछौ ।विगत २ वर्षको काम अनुरुप अन्य वडाको तुलनामा हाम्रो वडाले सर्वप्रथम काम सकेर नगरपालिकामा नामाकरण गर्न सफल भएको छ । यही लक्ष्य लिएर यो पटक पनि अगाडी बढेका छौँ ।

यो वर्षका अरु थप कार्य केके रह्यो ?
यो वर्षको केही मुख्य नगर स्तरिक योजनाहरुमा टि.आई टि.आई भवनको दक्षिण बाटोको ढल सुधारको कार्यक्रम,मनोहरा पुल देखि सल्लाघारीसम्मको बाटो फराकिलो बनाउनका लागि सडक बिस्तार आयोजना कार्यक्रम रहेको थियो ।

नगर प्रमुखको अगुवाइमा उपभोक्ता समिति गठन गरेर ढल सुधारको कार्यक्रम सम्पन्न भयो । तर यो कार्यक्रम बीच पनि केही आलोचना र टिक्काटिप्पणीहरु भए । वडा र नगर न मिलेको कारण काम हुन नसकेको जनगुनासो आयो । संयुक्त रुपमा नगर प्रमुखसँगै वडा समितिको कर्मचारी भेला भएर उपभोक्ता समिति गठन गर्याँै । तर कार्यक्रमको उद्घाटन दुई पटक भयो ।पहिलो चोटी नगर प्रमुखले गएर उद्घाटन गर्नु भयो, दोस्रो पटक म आफै पुगे ।

एउटै काम दुई पटक उद्घाटन हुने कारण ?
मध्यपुर नगरपालिका नगर प्रमुखले वडा २ को वडा अध्यक्षलाई व्यक्तिगत पूर्वाग्रह राखेको जस्तो लाग्छ । होइन भने अरु विकास निर्माणमा भएको कुराहरुमा व्यक्तिगत केही रिसिबि नभएको स्पष्ट रहेको छ । यही कारणले दुई पटक उद्घाटन गर्न परेको स्थिति आयो । उहाँहरुले एकलौटी हुन दिनु भएन । नगर प्रमुखलाई प्रथम स्थान दिनुभयो तर वडालाई पनि स्वीकार गरेर दोस्रो पटक बोलाएर सम्मान दिनुभयो । तर उद्घाटन गर्न बोलाएका उपभोक्ता साथीहरुप्रति म धन्यवाद व्यक्त गर्न चाहन्छु ।

दोस्रो योजना मनोहरा पुल देखि सानो ठिमी, बहाख्रा बजार, सल्लाघारीसम्मको बाटो बिस्तारका लागि सडक बिस्तार आयोजना कार्यक्रम रहेको छ । बाटो बिस्तार गर्दा ऐतिहासिक पाटी बाटोको बीचमा रहेको कारण काममा अबरोध आए । हामी सबै सरोकारवाला व्यक्तिको जनगुनासोमा पाटी भत्काउने विषयमा अभिान्ताहरुसँग छलफल गरेरे निस्कर्षमा आयौँ । ऐतिहासिक पाटीलाई हुबहु पुर्णनिर्माण गरिदिने बारे सडक विभागबाट पत्र पायौँ । स्थानिय वासिन्दा, पदाधिकारी, उपभोक्ता समितिबाट सबै जनाको भेलामा पाटीको मुचुल्का उठाएर ईटा, ढुङ्गा, काठको डाटा सहित प्रहरीलाई हस्तान्तरण पश्चात मात्र पाटी भत्काउने काम सुरु गर्यौ ।

तर हामीलाई नगर प्रमुख श्रेष्ठले पाटी मिलेमतोमा भत्काएर मौलिकता मासेको आरोपसँगै स्थतलगत रुपमा आएर कुनै पनि हालतमा पाटी भत्कदैन भनेर कडा निर्देशन दिनु भएको थियो । पाटी जहाँको त्यही बनाउने, यसलाई अन्त सारियो भने यसको मौलिकता हराउछ, बाटोमै परेको अबस्थामा पनि यो यथास्थानमा रहन्छ भनेर त्यही दिन उपभोक्ता समिति गठन गरेर नगरपालिकाको बजेट विनियोजित हुन्छ ।
तर हाल केही महिना अगाडी त्यो पाटी स्थान्तरण भएर बन्दै गर्दा पुरातत्व विभागले वडा कार्यालयको नाममा दुई पटकसम्म पत्र पठाएपछि हामीले उपभोक्ता समितिलाई गएर पुरातात्विक विभागले भने अनुसार गर्न मन्जुर छ भने, तपाईको आशय हामी कहाँ लेराउनुस् होइन भने तपाईहरुको काम रोक्नुस् भन्दा हुन्छ हामी पत्र लिएर आउँछौ भनेको आज एक महिना बितिसक्दा त्यो पत्र पनि आएको छैन, काम पनि गरिराख्नु भएको छ । नगर प्रमुखले यथास्थानमा बन्न पर्छ भनेर कडा निर्देशन रहेको कारण तुरुन्तै काम रोक्नुस् भनेर निर्माण हुँदै गरेर भित्तालाई भत्काइदिएका थिए । त्यस पश्चात पनि कुनै किसिमको प्रभाव नभएपछि हामीले फेरी विभागबाट पत्र पाएका छौँ । तत्कालै पुरातात्विक विभागले अर्को पत्र पठाएपछि त्यस्को जवाफमा हामी बाध्य भएर मध्यपुर थिमि नगरपालिकालाई चिठी लेखेर पठाउदै छौँ ।

अहिलेसम्म यो बिषयमा नगर प्रमुख जानकार हुनुहुन्न ?
यो कुरामा म जानकार भइन । सायद थाहा नपाएर पनि हुनसक्छ । उहाँ प्रत्यक्ष आएर यथास्थानमा बन्नुपर्छ भनेर निर्देशन दिएता पनि उहाँको निर्देशन विपरित काम भइरहदाँ हामीले उहाँलाई जानकारी गराउनका लागि पत्र पठाउँन लागेको हो । सायद उहाँ यो विषयमा अनविज्ञ भएको हुनसक्छ ।

पुरातत्व विभागले दिएको पत्र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यलय भक्तपुर तथा रामशाहपथ काठमाडौँलाई पनि दिन मन गरेका छौँ । आगामी दिनमा पनि हामीलाई नै पत्रचार गरिरहनु होला तर हामीलाई जानकारी नगराइकन निर्माण भइरहेको अवस्था छ । हामीले अहिले रोक्नुस भन्दै गर्दा पनि नियमित कार्य भइरहेको अबस्था छ ।

कस्को निर्देशनमा निर्माण कार्य भइरहेको छ ?
नगर स्तरीय बजेट भएकोले यसको सम्पुर्ण जिम्मा नगरपालिकाको नै हो । नगरप्रमुख निर्माण स्थलमा आएर पाटी यथास्थानमा बन्नुपर्छ भनेर निर्देशन गर्नुहन्छ, अहिले नगर स्तरिय बजेटबाट नै पाटीको निर्माण भइरहेको देख्दा उहाँ कति को जिम्मेवारी हुनुहुन्छ भन्ने कुरा प्रष्ट हुन्छ । र यसबारे जानकारी नराखेकोमा म आफै पनि अनविज्ञ छु । नदेखा जस्तो गर्नुभएको हो कि थाहा नभएको हो तर म यसलाई नगरपालिकाको लापरवाही भन्छु ।

यो चिठी पठाइसके पछि नगरपालिकाबाट के अपेक्षा राख्नु भएको छ ?
नगर प्रमुख, वडाका, नगरपालिका, उपभोक्ताका, पुरातत्वका केही प्रतिनिधिहरु बोलाएर पाटी स्थानतरण भएको ठिक हो या होइन बारे छलफलको विषय रहने सम्भावना रहेको छ । अहिले बनाइरहेको ठिक छ भने हिजोको दिनमा किन रोकियो भन्नेबारे समिक्षा हुनेछ । केन्द्र र वडामा भएको दुरी यो समिक्षा पछि जोडिन्छ कि भन्ने आशा छ । यही कारणले संवाद नहुने वातावरण भएको थियो भने अब यही कारणले संवाद हुने र सुमधुर नाता रहन्छ भन्ने लागेको छ । नगरपालिकालाई राम्रो बनाउनका लागि थप सल्लाह हुने अपेक्षा पनि राखेको छु ।

योजना अन्तरगत अरु गर्न बाँकी रहेको काम केके छन् ?
धेरै मध्य अब २–३ वटा योजनाहरु सम्पन्न हुन बाँकी रहेका छन् । मध्यपुर थिमि वडा २ भित्र रहेका मध्य एउटा गौरवशाली काम हुदैछ ।यो नगर स्तरिय योजना अन्तरगत नै पर्छ । नाट्यश्वरी पार्क निर्माणको लागि रु ८० लाख विनियोजित गरेका छौँ । नगरपालिका प्रमुख स्वयम् आएर केही हप्ता अगाडी उपभोक्ता समिति गठन भएको छ । समितिको अध्यक्ष जीवन सिजापतिको अध्यक्षतामा काम भइरहेको छ । प्राविधिक कामहरु भइरहेको छ । त्यसको डिपिआर तयार भइसकेको छ ।

बाँकी बिनियोजित कामबाट कति रकमको गर्न सकिन्छ त्यसको मात्र स्टिमेट गर्ने । भ्यु टावर सहितको पार्क बन्दै छ । आउदो हप्ता नै शिलान्यास कार्यक्रम गर्छैा । रु ४.५ करोड बजेटको अनुमान रहेको छ । अहिले नगरपालिकाबाट ७५ लाख विनियोजित भएको छ त्यसबाट काम सुरु गर्दैछौ । वडा २ को मात्र नभएर मध्यपुर थिमिको लागि नै गौरव हुनेछ । काठमाडौंबाट छिर्ने बितिकै मनोहरा पुल दिव्यश्वरी जग्गा एकिकरण रहेको छ । ल्यान्डपुलिङ भएको ठाउँबाट आउँदा पार्क देख्न पाउदा मध्यपुर थिमि शान्त , सुन्दर, हरियालिको स्वरुप देखिन्छ । त्यसैले पनि यसलाई हाम्रो गौरव भन्छु ।

नगर स्तरिय योजनामा सडक बिस्तार योजनाले सडकको बाटो विस्तार गरिरहेको छ । धेरै जग्गाहरु बाटो पछि पनि बच्ने भएको कारणले हरेक सार्वजनिक जग्गाहरुलाई भौतिक संरचना बनाएर मात्र नस्ट नगर्ने खुल्ला रहेका क्षेत्रमा हरियाली सहित मिनि पार्कको योजना रहेको छ । त्यसको पनि समिति गठन भइसकेको छ । त्यो काम पनि प्रक्रियामा रहेको छ । एस ओ एस बालग्रामको कम्पाउन्ड वाल बाट सुरु भएर नाट्यश्वरी पार्क भन्दा सानो भएता पनि सडकको सोभा दिने भन्ने आशा गरेर काम अगाडी बढाएको छु ।

यी कामहरु कहिले सम्म सम्पन्न हुन्छ ?
नगर स्तरमा रहेका सबै कामहरु जेठ महिनासम्म सम्पन्न गर्नेर्छौ । त्यसैगरि वडाकै दायित्वमा भएको सम्पुर्ण काम चैत्र मसान्त सम्ममा सक्नेछौ । नगरपालिकाबाट हुने काममा वडा र नगरपालिका बीच दुरी रहेको कारणले थेरै ढिला हुन्छ तर पनि नगरपालिकासँग समन्वय गरेर चाडो सक्ने प्रयास गछौँ ।

प्रतिकृया