• १४:४८ २०८० चैत्र १६ गते
  • 2:48 pm

हाम्रो नगरपालिकामा अनियमितता छैन भन्ने तथ्य खुला किताब जस्तै स्पष्ट छ : नगर प्रमुख मोहन बस्नेत

प्रकाशित मिति

२०७६ फाल्गुन १५ गते, बिहीबार १०:५१

mohan basnet

दक्षिणकाली नगरपालिकाका ४२.६ कि.मी को क्षेत्रफल भएको दक्षिणकाली नगरपालिकालाई नेपाल सरकारले २०७१ मंसिर १६ गते नगरपालिको रुपमा घोषणा गरेको हो । ऐतिहासिक, धार्मिक ,सांस्कृतिक र पर्यटकीय स्थलका रुपमा परिचित रहेको दक्षिणकाली नगरपालिका काठमाडौँबाट १८ कि.मी.को दुरीमा रहेको छ । यस नगरपालिकाले धार्मिक, पर्यटकीय तथा आर्थिक रुपले आफैँमा आत्मनिर्भर रहने सम्भावना बोकेको छ । दक्षिणकाली नगरपालिकाको बिकास ,यसमा देखिएका समस्या, समाधान र संभावनाको विषयमा नगर प्रमुख मोहन बस्नेतले मातृभूमिन्युज डटकम सँग गरेको कुराकानी :

दक्षिणकाली नगरपालिकाको मुख्य समस्याहरु के रहेका छन् ? सडक निर्माणको लागि नगरपालिकाले के कदम चालिरहेको छ ?

दक्षिणकाली नगरपालिकाको समस्या भनेको मुख्य त यातायातको लागि बाटोको कारण असहझता नै रहेको छ । दक्षिणकाली मन्दिरसम्म आउनको लागि हामीले चाँडो नै कालो पत्रे गरेर बाटो बनाउने छौँ । मन्दिरसम्म पुग्नको लागि, राम्रो बाटो बनाएर सुबिधाको निम्ति सडक विभागले टेण्डरसम्म गरिसकेको अबस्था छ । आउँदो ३ महिनाभित्र दक्षिणकाली मन्दिरसम्म बाटो पिच भइसक्छ र हामी यो समस्याबाट मुक्त हुन्छौँ ।

छैमले खण्डमा भने कालो पत्रे गर्न बाँकी रहेको छ, यसको लागि हामी छलफल गर्दैछौँ । फराकिलो बाटो गरिसकेपछि पिच गर्ने कुरा प्रदेश सरकारको भएको हुनाले स्थानिय बासिन्दासँग बसेर छलफल गर्दैछौँ ।

शिक्षा क्षेत्रमा दक्षिणकाली नगरपालिकाको स्थिति के रहेको छ ?

हामीले पहिलो प्राथमिकता शिक्षालाई दिएका छौं । दक्षिणकाली नगरपालिकामा २० वटा सामुदायीक विद्यालयहरु छन् । हामीले भरखरै कलेजको रुपमा सरकारी माध्यमिक विद्यालयबाट प्राविधिक कलेजको रुपमा रुपान्तर गरेको छौँ । सँगसँगै कृषि कलेजको रुपमा एक विद्यालयमा सम्बन्धन प्राप्त गरेर २६ जना विद्यार्थी अध्यनरत रहेका छन् । विद्यालयमा पठनपाठनको गुणस्तर बढाउनको निम्ति सबै विद्यालयमा प्रविधिको विकास आवश्यक ठानेर शिक्षा कार्यालय नगरबाट हेर्न सक्ने व्यवस्था मिलाएर सि.सि. क्यामरा जडान गरेका छौँ । संस्थागत विद्यालय र सामुदायिक विद्यालयलाई गुणस्तर शिक्षाको लागि नगरपालिकाले सामुहिक शिक्षालाई प्राथमिक्ता दिदैँ तालिम समेत प्रदान गर्ने व्यबस्था मिलाइरहेको छौं ।
हामीले दक्षिणकाली नगरपालिकालाई साक्षरता घोषणा गरिसकेका छौँ । केही दिन मात्र वितेको अबस्था छ यो नगरलाई साक्षर नगरको रुपमा विकास गरिसकेका छौँ ।

सबै सरकारी विद्यालयहरुमा नयाँ भवन निर्माण गर्ने कार्य गरेका छौँ । हामीले २० वटा विद्यालयमध्य १५ वटा विद्यालयमा सुबिधा सम्पन्न भवनको काम अगाडी बढाएका छौँ । हाम्रा नगरवासीहरुले आफ्नो बालबालिकाहरुलाई शिक्षित बनाउनु भयो तर मौलिकता गुमेको स्थिति भएको हुनाले संस्कार सहितको शिक्षा दिनको लागि अब नगरपालिकाले नै शिक्षाको कोर्स निर्माण गरेर आगामी भर्नाको सेसनबाट नगरले तयार गरेको कोर्स नै हामीले विद्यार्थीलाई दिंदैछौँ । जसले गर्दा मौलिकता सहितको शिक्षा, नगरवासीले खोजेको शिक्षा दिनको लागि सक्रिय छौँ ।

तपाईको कार्यकालमा के कति बिकासका काम सम्पन्न भइसकेका छन् ?

कति काम सम्पन्न भयो भन्दा धेरै काम सम्पन्न भइसकेको छ । तीन वर्षको अवधिको धेरै कार्य मध्य केही राम्रो कार्य भन्दा नगरपालिका भित्र शिक्षाको क्षेत्रमा र जेष्ठ नागरिकको हितमा काम गरेको छौँ ।

सबै विद्यालयको सुविधा सम्पन्न भवनको निर्माण गरेका छौँ । शिक्षाका लागि काठमाडौँ पुग्न नपर्ने स्थिति सृजना गर्दैछौँ । विद्यालयको भवनसँगै विद्यार्थीको पठनपाठनको गुणस्तरमा विषेश ध्यान दिएका छौँ ।

हरेक वर्षको दशै चाँड भन्दा एक महिना अगाडी जेष्ठ नागरिकलाई एकजोर लुगा, महिनाको एकपटक हरेक घरमा स्वाथ्यकर्मी पठाउँछौँ । जेष्ठ नागरिक सहित अपाङ्गता भएकाहरुलाई स्वयम्सेवीका पठाएर घरमै उपचारको सेवाको व्यवस्था गरेका छौँ । त्यति मात्र नभएर उहाँहरुलाई सिकिस्त अबस्थामा स्यमंसेवकहरुले अस्पतालसम्म पुर्याउने वातावरण बनाएका छौँ ।

विकास निर्माणको सवालमा दक्षिणकाली नगरपालिका धार्मिक पर्यटक क्षेत्र भएको कारण पर्यटक भित्र्याउनको लागि धार्मिक स्थलहरुमा डिपिआर तयार गरेर काम अगाडी बढाएका छौँ । यो डिपिआर मार्फत दक्षिणकाली सँगै अरु धेरै मन्दिरहरु रहेका छन् । सबै धार्मिक मठमन्दिरहरुको डिपिआर तयार गरेर धार्मिक पर्यटकहरु भित्र्याउनको लागि आवश्यक पार्कहरु पनि निर्माण गर्ने योजना बनाएको छौँ ।

वडा १ को चम्पादेवी मन्दिरको सिडीको डिपिआर तयार गरेर मन्दिरसम्मको कामको लागि तयार गर्दैछौँ । हात्तीवनको माथिल्लो भागमा पार्क बनाउनको लागि डिपिआर तयार गरिसकेका छौँ । पानासु सँगै जातिपोखरीको पनि डिपिआरको थालनी गरिसकेका छौँ । सांस्कृतिक सहरको रुपमा रहेको फर्पिङ बजारलाई पुरानै शैलीमा लैजान भनेर डिपिआरको रिर्पोट बुझ्ने क्रममा छौ । प्राचिन सिख्रापुर नगरपालिकामा तेत्तिसकोटी देवीदेवताको मठमन्दिर लगायतमा डिपिआर मार्फत काम अगाडी बढाएर धार्मिक स्थलको नगरको रुपमा विकास गर्ने योजना रहेको छ ।

भिजिट नेपाल २०२० को लागि दक्षिणकाली नगरपालिकाको के तयारी रहेको छ ?

भिजिट २०२० लाई सफल बनाउँ धेरै पर्यटकलाई भित्र्याउ भन्ने योजना अन्तरगत धेरै पर्यटकलाई भित्र्याउने विषयमा हामी पनि छौँ । दक्षिणकाली नगरपालिकामा सधै भरि भिजिट २०२० रहेको छ । यो नगरपालिकामा हजारौ पर्यटकहरु भित्रिरहेका छन् ।

हाम्रो चिन्ताको विषय भनेको आएका पर्यटकलाई व्यवस्थित गराउने हो । हामीले धेरै प्रचारप्रसार गरिराख्न नपर्ने स्थिति रहेको छ । दक्षिणकालीको दर्शन गर्नका निम्ति लाखौँ भक्तजनहरु आइराखेको अबस्था छ । हजारौ हजार बुद्ध मार्गीहरु गुम्बामा आइरहेका छन् । यी धार्मिक स्थानमा आएकाहरुलाई बसोवासको व्यबस्था र सरसफाइमा ध्यान दिनसके बाह्र महिना नै यहाँ भिजिट २०२० को सपना पुरा हुने स्थिति छ ।

यहाँ सजिलो गरी धेरै पर्यटक भित्रिदैं गरेको अबस्थामा यो अवसरको सदुपयोग गर्नुपर्छ भनेर हामी काम गर्दैछौँ । हामीले वडा नं १ को दक्षिणकाली मन्दिरबाट काम सुरु गरिसकेका छौँ । दक्षिणकाली नगरपालिकामा यस्तो पनि ठाउँ रहेको छ, एक घण्टा माथि उक्लिएपछि डाँडाँबाट काठमाडौँको उपत्यका सबै हिमाल देख्न सक्ने महत्वपुर्ण ठाउँ भएको कारणले आन्तरिक र बाहिरको पर्यटकलाई दक्षिणकाली नगरपालिकाको भ्रमण गर्न आउन पनि निमन्त्रणा गर्छु ।

देश संघियतामा गइसकेपछि स्थानिय तहमा अनियमितता बढेको सुनिन्छ नि ? दक्षिणकाली नगरपालिको परिस्थिति के छ ?

हामीले दक्षिणकाली नगरपालिकालाई खुला किताबको रुपमा प्रस्तुत गरेको छौँ । हामी जनप्रतिनिधिहरु स्थानिय तहलाई सकेसम्म राम्रो बनाउने उदेश्यले लागेका छौँ । केन्द्रमा हुने कामहरु स्थानिय तहले गर्छ कि गर्दैन भनेर जनताको प्रश्न हुनसक्छ । हामी जनप्रतिनिधिहरु जनतालाई निष्पक्ष सेवाको भाव राखेर अगाडी बढ्नुको साथै लोभलालच राख्न हुदैन भनेर निर्देशन दिएको छौँ ।

काम गर्न दिइएको समयलाई राम्रोसँग उपयोग गर्न सकिएन भने हामीलाई मत खसालेर जिताउने मतदाता मात्र नभएर अन्य नागरिकले पनि हाम्रो कामलाई नियाल्नु भएको हुन्छ । यो कार्यभार सम्हाल्दै गर्दा सबैको नजरमा नगिरिकन काम सम्पन्न गर्ने उदेश्य हाम्रो मात्र नभएर सिङ्गो नेपाल सरकारको रहेको छ । त्यसकारण हामी जनप्रतिनिधिहरुले अनियमितता नभएको जनताले आफै महसुस गर्नसक्ने वातावरण बनाउनु पर्छ ।देशभरी चर्चाको विषय भएको समयमा, सबै स्थानिय तहमा अनियमितता नभएको भनेको होइन तर दक्षिणकाली नगरपालिकामा भने स्पष्ट र खुल्ला रहेको मेलै अनुभव गरेको छु ।

अबको योजना के रहेको छ ?

धेरै योजना बनाइएता पनि त्यस किसिमले काम गरेर सावित गर्न कठिन भएको छ । झण्डै दुई वर्ष देखि कर्मचारी समायोजन देखि लिएर संघ र प्रदेशको विभाजनले गर्दा धेरै समय गइसकेको महसुस गरेको छु । केबल कार, ठुलठुला पार्कको काम जुन सार्वजनिक गरिसकेका छौँ त्यो काम त अवश्य पुरा गछौँ । दुई वर्ष भित्र गरिएका कल्पनाहरुलाई साकार बनाउने उदेश्यले हामी अगाडी बढेका छौँ ।

हामी उत्साहित भएर शिक्षाको क्षेत्रमा बजेट लगानी गरिरहेका छौँ । हामीले सबै विद्यालयलाई सक्षम बनाउनका लागि धेरै बजेट शिक्षामा लगानी गर्ने मान्यता राखेर नेपाल सरकार अन्तरगत एउटा विद्यालय बनाउनको लागि करिब रु ७२ करोडको लागानीमा १५ वटा बिद्यालयको निर्माण कार्य भइरहेको छ । गुणस्तरीय शिक्षा दिन सक्यौ भने मात्र लगानीको सहि उपयोग हुन्छ । हामीले १४ वटा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरिसकेका छौ । शिक्षाका लागि ठुलो लगानीमा भवन निर्माण हुँदै गरेको छ । सेती देवी माविमा २ वटा, वडा ८ मा ५ वटा भवन, श्री कृष्ण माविमा २ वटा लगायत हरेक वडामा विद्यालयको सुविधा रेहेको छ । शिक्षाको क्षेत्रमा लगानी भएको प्रतिफल आउन समय लाग्ने हुनाले करिब दुई वर्ष पछि यसको सकारात्मक पक्षहरु आउने आशा गरेर लगानी गरेका हौ ।

सबै वडामा यातायात पुर्याउन र विद्यालय, अस्पताल जानको लागि, कृषि व्यवसाय गर्नको लागि बाटो आवश्यक रहेको अनुभुति गरेर प्रत्येक वडाको मुख्य बाटोमा कालो पत्रे गर्नको लागि कोसिस भइरहेको छ ।

नगरवासी युवाहरु उद्योगको क्षेत्र नभएको कारण विदेशसम्म जाने विषयलाई ध्यानमा राखेर नगर क्षेत्र भित्र उद्योग स्थापना गर्ने विषयमा नगरपालिकाले आफ्नै लगानी गरेर टेलिभिजन कार्यक्रम मार्फत दक्षिणकाली नगरपालिकामा उद्योग गर्नको लागि सहयोग सहित निमन्त्रणा गरेको छौँ । त्यस पछि उद्योगीहरु विस्तारै नगरपालिकामा उद्योग गर्नको निम्ति भित्रिने क्रम जारी रहेको छ । दक्षिणकाली नगरपालिका वडा ७ मा उद्योगको लागि लगभग ६ सय रोपनी निजी जग्गा छुट्याएका छौँ । उद्योग क्षेत्र भित्र राष्ट्रिय जुत्ता उद्योगीहरुले जग्गा खरिद गरेर उद्योगको लागि सुरु गरिसकेको अबस्था छ । नेपाल सरकारबाट उद्योग क्षेत्र जाने पहुँच निर्माण भनेर ४ करोड बिनियोजन गरेर टेण्डर मार्फत काम सुरु भएको छ । रोजगारीको लागि विदेश नगएर आफ्नै देशमा केही गर्ने वातावरण स्रिजना गर्ने उदेश्यले हामीले उद्योगको योजना सुरु गरेका छौँ ।

दक्षिणकाली नगरपालिका भित्र पन्ध्रसय बेड रहेको मनमोहन सामुदायिक अस्पताल, चाल्नाखेल अस्पताल रहेको छ । त्यसैगरि हरेक वडामा स्वास्थ्य सेवा केन्द्र रहेको छ । तर काठमाडौँ नजिक भएको कारणले अलिकति काठमाडौँ जान मन पराएको देखिन्छ । स्थानिय तहमा आइसकेपछि स्वास्थ्यको विषयमा केही परिवर्तन भएको भने पक्कै छ । जेष्ठ नागरिकको उपचार गर्न जादाँ घरघरमै अरु विरामीले पनि उपचार पाएका छन् ।

अन्त्यमा, दक्षिणकाली नगरपालिकाको सडक कहिलेसम्म बनिसक्छ त ?

दक्षिणकालीको सडक बनाउने जिम्मा प्रदेश सरकारको रहेको छ । हामी नगरपालिकाहरु भनेको सहजकर्ता मात्र हौँ । यस नगरपालिको सडकको काम प्रदेश स्तरिय भएको कारण उहाँहरुसँको ३–४ वटा छलफलको बैठक पछि १ महिनासम्म बनाउने कुरा भएको थियो । आज भन्दा ४ महिना अगाडी आउनु भएको पर्यटक र यहाँको वासिन्दाले केही सडकमा केही परिवर्तन भएको अनुभुति गर्नु भएको छ । तर फेरि पनि खाल्डा भइसकेको कारणले सरकारसँग समन्वय गरेर यो काम सम्पन्न गर्ने बारे भनिसकेका छौँ, उहाँहरुले चैत महिना भित्र सडक कालो पत्रे गरिसक्ने बताउनुभएको छ । धेरै काम छैन समन्वय गरेर चाँडो गर्न कोसिस गर्ने छौँ ।

प्रतिकृया