सबै मिलेर बिकास निर्माणमा हातेमालो गरौं: सुर्यविनायक नगरपालिका–४ वडा अध्यक्ष उत्तम थापा (अन्तरवार्ता)
प्रकाशित मिति
२०७६ पुष ४ गते, शुक्रबार १०:०२
‘जनताले महशुस गर्ने गरी हामी जनप्रतिनिधिहरुले काम गरेका छौं’
सरकारले समृद्ध नेपाल,सुखी नेपाली भन्ने राष्ट्रिय नारा अघि सारेको छ । २०७४ सालको निर्वाचनमा निर्वाचित भएर आएका जनप्रतिनिधिरु आफ्नो नगर, वडालाई नमुना बनाउन लागि परेको दाबी गरिरहेका छन् । तर त्यहाँ विकास र समृद्धिका काम कति भएका छन्,जनताको आकांक्षालाई कति सम्बोधन गरिएको छ, यो चासोको बिषय भएको छ ।यसै सन्दर्भमा सुर्यविनायक नगरपालिका वडा नं.४ का वडा अध्यक्ष उत्तम थापासंगको अन्तरवार्ता:

वडा बिकासको लागि कस्तो कार्य योजना रहेको छ ?

हाम्रो वडाको मुख्य कार्य योजना सडक, स्वास्थ्य, शिक्षा र खानेपानी हो । जस मध्ये पहिलो कार्य योजना सडक रहेको छ ।
सडक तर्फ ठिमी देखि तर्खगाल सम्म जाने बाटो रु. ५ करोडको लगानीमा निर्माण हुदैछ । यस बर्ष संघिय सरकारबाट बजेट विनियोजन भएको छ ।हामीले ठिमी देखि तर्खगालसम्म जाने सडकलाई नै विशेष जोड दिएका छौं । अरु साना तिना सडक केही निर्माण भैसकेको छ भने केहि हुन बाँकी छ । हाल वडाको सबै क्षेत्रमा लगभग सडक निर्माण भैसकेको छ । सम्रग रुपमा भन्नु पर्दा हामी निर्वाचित भएर आए पश्चात सडकको स्तरउन्नती धेरै भएको छ ।
स्वास्थ्य तर्फ हरेक मानिस स्वस्य रहनु अति आवश्यक छ । स्वास्थ्य क्षेत्रमा हामीले बिभिन्न कार्यक्रमहरु गदै आएका छौं । राज्यले दिएको स्वास्थ्य सेवालाई जनताले भरिपुर्ण रुपमा उपयोग गरुन् भन्ने उदेश्य हाम्रो हो । दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई अबको केही समयमै सुर्यविनायक नगरपालिकाले १५ बेडको अस्पतालको रुपमा परिणत गर्दै छ ।
शिक्षा ,शिक्षा बालबालिकाको लागि अतिनै आवश्यक छ, हामी निर्वाचित भएर आए पश्चात हरेक वडामा भएका सामुदायिक बिद्यालयको नयाँ व्यवस्थापना समिति गठन गरि उक्त सामुदायिक बिद्यालयको अध्यक्ष जनप्रतिनि नै हुने निर्णय अनुसार हामीले सामुदायिक बिद्यालयको पठन पाठनमा निकै जोड दिएका छौं । अरनिको माबिमा १२ कक्षा सम्म पढाई हुन्थ्यो भने हामीले अब बि.बि.एस को पढाई संचालन गर्दै छौं ।नेपाल सरकारले ल्याएको योजना अनुसार एक बिद्यालयमा एक स्वास्थ्य कर्मी कार्यक्रमलाई अगाडी बढाएका छौं ।जस अन्र्तगत अरनिको बिद्यालयमा हामीले स्वास्थ्य सेवा बिद्यार्थी भाईबहिनिहरुलाई प्रदान गरिहेका छौं ।
पर्यटन प्रवद्र्धनको लागि हामीले अनन्तलिङ्गेश्वर कैलाश डाडाँमा भ्यु टावर बनाउदै छौं । प्रदेश सरकारले रुं एक करोड रकम विनियोजित गरेको छ । हालै मात्र सांसद महेश बस्नेत ज्यु र प्रदेश सभा सदस्य शशीजंग थापाबाट भ्यु टावरको शिल्यान्यास भएको छ । बृहत रुपमा काम सुरु भैरहेको छ । सम्रग रुपमा यस वडाको आर्थिक र सामाजिक बिकासका लागि प्रदेश सरकार र स्थानिय सरकार लागि परेको छ । निर्वाचित भएर आए पश्चात जनताले महशुस गर्ने गरी हामी जनप्रतिनिधिहरुले काम गरेका छौं ।
भौतिक पुर्वाधार बिकास गर्दा के कस्ता चुनौति आए ?
जनप्रतिधिको काम नै चुनौतीपुर्ण रहेछ । हरेक क्षेत्रमा अप्ठ्याारा परिस्थिति आए तर सहज ढङगबाट हामीले ती चुनौतिहरुको समाधान गर्यौँ । बाटो सीमाङकन गर्दा अलि अप्ठयारो परिस्थिति आउने हो ।बिवाद हुनु पनि स्वभाविकै हो ।हाल जग्गाको भाउले आकाश छोएको छ । एक आना जग्गा बराबर रु १०, १५ लाख आउने अवस्था रहेको छ ।सोही कारणले गर्दा नि सिमाङ्कनमा समस्या आएको हुनसक्छ । जग्गा धनिहरुले जग्गा दिन गाह्रो यहि कारणले गर्नु भएको हो । १२ मिटर देखि ४ मिटर सम्मका बाटोहरुलाई हेरेर सिमाङकन गरेका छौं । जनताले इन्च इन्चको हिसाब गर्ने ,मेरो यति पर्यो उस्को त्यति जस्ता यावत कुराहरुले गर्दा भौतिक पुर्वाधार बिकास गर्दा चुनौति आउँछ ,जस्को समाधान हामीले कोही कसैलाई अन्याय नहुने हिसाबले गरेका छौं ।
जनताका मुख्य माग के के हुन्?
जनताका माग दैनिक उपभोग्य बस्तु जस्तै यातायात,खानेपानी, स्वास्थ्य, शिक्षामा रहेको छ ।यातायातमा जनताले समस्या भोगिरहनु भएको छ । हामीलाई बिगतको लामो समय देखि ठिमी यातायात संघले सेवा सुबिधा दिदै आईरहेको थियो । यहाँको मुख्य समस्या भनेको नै तर्खकाल बाट ठिमी जाँदा प्यासेन्जर हुने र आउदा नहुने समस्याका कारणले गर्दा यातायातको समस्या धेरै रहेको छ ।यातायात संचालन गर्नेहरु सायद नाफा नहुने भएकाले होला यातायात चलाउन नमान्ने परिवेश रहेको छ ।हामीले अन्य यातायात संघहरुसंग कुरा राखेका छौं ।छिटै हामी यो समस्याको हल गर्ने छौं ।
जनता र वडा बिच कस्तो समन्वयन रहेको छ ?
हामीले बाटो सिमाङ्कन गर्दा बाटो दायाँ बायाँ दुबै पट्टिका सँधीयारहरुलाई भेला गरेर कोही जनता अन्यायमा नपरुन् भन्ने हिसाबले काम गरेका छौं । जनताले नीति नियमलाई बुझेर हामीलाई साथ दिनु भएको छ ।जनता र वडा बिचको सम्बन्ध सुमधुर भएन भने भौतिक पुर्वाधार बिकास हुन गाह्रो छ ।
२०७४ सालको निर्वाचन पश्चात के सामुदायिक बिद्यालयको अवस्था उकासिएको हो ?
हामी निर्वाचन भएर आए पश्चात सुर्यविनायक नगरपालिकाले शिक्षा क्षेत्रमा नयाँ नीति ,नियम र नयाँ ऐन ल्याएको छ ।जस अन्र्तगत जनप्रतिनिधिहरुनै सामुदायिक बिद्यालय व्यवस्थापनको अध्यक्ष भए पश्चात मेरो वडा मात्र नभई सम्रग सुर्यविनायक नगरपालिका भरिकै सामुदायिक बिद्यालयको स्तर बढेको छ ।निजि बिद्यालयमा जसरी पढाई हुन्छ सामुदायिक बिद्यालयका पढाई देखि हरेक क्रियाकलापमा हामीले विशेष जोड दिएका छौं ।शिक्षक,शिक्षिकाहरुका लागि हामीले नयाँ नीति नियम बनाएका छौं । राम्रो शिक्षकलाई हामीले पुरस्कार वितरण गर्ने गरेका छौं । जस्ले गर्दा अन्य शिक्षकहरुलाई पनि हौसला मिलेको छ । उत्कृष्ट बिद्यालयलाई नगरपालिकाले पुरस्कार बितरण गर्ने गरेका छ , यस्ले अरु बिद्यालयहरुलाई नि हौसला प्रदान गरेको छ । हामी निर्वाचित भए पश्चात सामुदायिक बिद्यालय बिगतको तुलनामा पक्कै उकासिएकै हो ।
नागरिक वडा पत्र कतिको लागु गर्नु भएको छ ?
हरेक वडामा नागरिक वडा पत्र लागु गरिएको छ । जस मध्ये हामीले पनि हाम्रो वडामा नागरिक वडा पत्रको लागु नगरपालिकाको नियम अनुसार गरेका छौं ।
तपाई निर्वाचित भए पश्चात घोषणापत्र बमोजिम कति प्रतिशत बिकास निर्माणका कार्यहरु भए?
जब हामी निर्वाचित भएर आयौं सोही समय देखि हामीले तन,मन दिएर बिकास निर्माणमा लागि परेका छौं ।५ बर्षको कार्यकालमा मेरो वडालाई सुबिधा सम्पन्न वडा बनाउने मेरो लक्ष्य रहेको छ । बिगतको तुलनामा जनप्रतिधिहरु आए पश्चात बिकास निर्माणले फड्को मारेकै हो ।हामीले कार्य योजना बनाएर काम गर्ने गरेका छौं ।जस मध्ये अन्य बिकास निर्माणका कार्यहरु संगै सडक निमार्ण कार्य हरेक क्षेत्रमा हुदैछ ।
अन्तमा तपाईको सन्देस: मेरो सन्देस यहि छ कि,सम्पुर्ण जनमानसमा, सबै मिलेर बिकास निर्माणमा हातेमालो गरौं ।जनता र स्थानिय सरकारको राम्रो मेलमिलाप भएमा बिकासले तिव्रता लिनेछ ।सबैलाई बिकास निर्माण कार्यमा हातेमालो गर्न अनुरोध गर्दछु ।




प्रतिकृया