शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु
प्रकाशित मिति
२०७६ असार २५ गते, बुधबार १२:४९
काठमाडौं, कञ्चनपुरमा शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनी रहेका छन् ।
गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका माधवको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाकारी दिएको छ । यसअघि सो घटनाबारे विद्यार्थीका अभिभावकका तर्फबाट चार शिक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी आएको थियो । त्यतिबेला अभिभावक र शिक्षकबीच पहिले घाइतेको उपचार गराउने सहमति भएको थियो ।

मृतक विद्यार्थीका अभिभावकले भने प्रधानाध्यापकसहित चारै शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छन् । कुटपिटबाट विद्यार्थीको छाती, टाउकोमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो । प्रहरीले सुरक्षा र घटनाबारे अनुसन्धानका लागि भन्दै विद्यालयका प्रधानाध्यापकसहित चार शिक्षकलाई मंगलबार राति नै नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले प्रधानाध्यापक यशोदा जोशी तथा शिक्षक लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीलाई नियन्त्रणमा लिएको छ ।





प्रतिकृया