• १४ असोज २०८३, बुधबार
  • ४ः०२ बिहान

यस्तो आजको मौसम

प्रकाशित मिति

२०८३ असार १५ गते, सोमबार ०९:१५

१५ असार २०८३ काठमाडौं-  जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय रहँदा आज देशभर वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू-भाग, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।

National Life

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भाग, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आगामी २–३ दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ। हाल कोशी र मधेश प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश स्थानमा आंशिक बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विशेषगरी कोशी प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।

यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिँदै विभागले मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका केही क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिकृया