• १४ असोज २०८३, बुधबार
  • ३ः१६ राती

आज राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि नारासहित देशभर रोपाइँ महोत्सव

प्रकाशित मिति

२०८३ असार १५ गते, सोमबार ०९:२७

१५ असार २०८३ काठमाडौं – आज असार १५ अर्थात् २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा परिचित असार १५ नेपाली कृषि संस्कृतिसँग जोडिएको विशेष दिन मानिन्छ।

National Life

यस वर्षको राष्ट्रिय धान दिवसको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ रहेको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाका अनुसार जलवायु परिवर्तनको चुनौतीबीच आधुनिक प्रविधिको प्रयोगमार्फत धान उत्पादन बढाउने उद्देश्यसहित यो नारा तय गरिएको हो।

नेपालमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। किसानलाई प्रोत्साहन गर्ने, कृषिप्रति आकर्षण बढाउने र खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइँदै आएको छ। असार १५ लाई दही–चिउरा खाने दिनका रूपमा पनि विशेष महत्वका साथ मनाइन्छ। खेतमा रोपाइँ गरेपछि दही–चिउरा खाने नेपाली परम्परा अहिले सांस्कृतिक पहिचानका रूपमा स्थापित भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

धान नेपालको प्रमुख खाद्यान्न बाली हो। कृषि क्षेत्रबाट प्राप्त कुल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान करिब १२ प्रतिशत रहेको छ भने राष्ट्रिय अर्थतन्त्र (जिडिपी) मा कृषि क्षेत्रको योगदान करिब ३३ प्रतिशत रहेको तथ्यांक छ।

यद्यपि पर्याप्त जलस्रोत, उर्वर भूमि र जनशक्ति हुँदाहुँदै पनि नेपालमा धान उत्पादन अपेक्षित रूपमा बढ्न सकेको छैन। कृषि विज्ञहरूका अनुसार युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमिन खण्डीकरण हुँदै घडेरीमा रूपान्तरण हुनु, पर्याप्त सिँचाइ सुविधा नहुनु, उन्नत बीउबिजन तथा मलखादको प्रभावकारी प्रयोग हुन नसक्नु र धानको समर्थन मूल्य समयमै नतोकिनु उत्पादन वृद्धिका प्रमुख चुनौती हुन्।

नेपालीहरूको मुख्य खाद्य परिकार भात भएकाले चामलको माग निरन्तर बढिरहेको छ। उत्पादनले माग धान्न नसक्दा नेपालले ठूलो परिमाणमा चामल आयात गर्नुपर्ने अवस्था छ। यसलाई घटाउन सरकारले धान उत्पादन दोब्बर बनाउने लक्ष्य अघि सारेको छ।

नेपाल विश्वकै अग्लो स्थानमा धान खेती हुने मुलुकमध्ये एक हो। जुम्लाको छुमचौरमा उत्पादन हुने ‘जुम्ली मार्सी’ धान विश्वप्रसिद्ध मानिए पनि मागअनुसार उत्पादन हुन सकेको छैन। यस्तै, झापा जिल्ला नेपालमै सबैभन्दा बढी धान उत्पादन हुने जिल्लाका रूपमा परिचित छ।

सरकारी तथ्यांकअनुसार नेपालमा करिब ३१ लाख हेक्टर खेतीयोग्य जमिन रहेको भए पनि त्यसको उल्लेख्य हिस्सा अझै बाँझै रहेको छ। बढ्दो जनसंख्यासँगै खाद्यान्नको माग पनि बढिरहेका बेला खेतीयोग्य जमिनको संरक्षण, आधुनिक कृषि प्रविधिको प्रयोग र उत्पादन वृद्धिमा जोड दिनुपर्ने आवश्यकता विज्ञहरूले औँल्याएका छन्।

प्रतिकृया